समयमै काम सक्न निर्माण व्यवसायीलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा केही प्राविधिक त्रुटिहरू देखिएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बुधबारको भेटमा मन्त्री शर्माले एघारौँ संशोधनमा देखिएका प्राविधिक त्रुटिहरू संशोधन गर्ने आश्वासन पनि दिनुभएको हो ।

निर्माण व्यवसायीहरूसँग सहकार्य गरी सरकार भौतिक पूर्वाधार विकास कार्यमा अगाडि बढ्ने उहाँले बताउनुभयो । २३ औँ साधारण सभा तथा १२ औँ अधिवेशनको काठमाडौँ घोषणापत्र कार्यान्वयन तथा सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनका विषयमा जानकारी गराउन महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई भेटेको हो । मन्त्री शर्माले समयमै काम सकेर पुँजीगत खर्च गर्ने सरकारको लक्ष्यमा सघाउन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । महासंघको नवनिर्वाचित कार्यसमितिलाई उहाँले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।

महासंघ प्रतिनिधिमण्डलले अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउने अवस्था नरहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत मूल्य समायोजन मागदर्शन—२ जारी गराउन आवश्यक पहलकदमीका लागि मन्त्री शर्मा समक्ष आग्रह गरेको छ । महासंघ प्रतिनिधिमण्डलले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग पनि भेट गरेको छ । मन्त्री झाँक्रीले खरिद नियमावलीको संशोधनबाट मात्रै निर्माण उद्योगको समस्या समाधान नहुने भन्दै खरिद ऐन/कानुनमै संशोधन आवश्यक भएको धारणा राखेकी छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार