
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने बताउनुभएको छ । उहाँले उदारवादी लोकतन्त्र, कम्युनिस्ट ब्राण्ड (समाजवादी धार) र समावेशी लोकतान्त्रिक धार रहने बताउनुभयो ।
कांग्रेसले उदारवादी लोकतान्त्रिक धारको प्रतिनिधित्व गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार जति टुक्रा भए पनि कम्युनिस्ट पार्टीहरूको एउटा धार रहने र जसपाको नेतृत्वमा समावेशी लोकतान्त्रिक धार हुनेछ । तर, उहाँले कम्युनिस्ट धार केही रहने र जसपाले प्रतिनिधित्व गर्ने धार भविष्यमा ठूलो हुने दाबी गरेका छन् ।
आज सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले लेख्नुभएको छ, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है ! कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ । कम्युनिस्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ । अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो । जसपा त्यसको भ्रुण हो ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि विदेशी शक्तिहरूले नेपालमा दुई धारको पार्टी मात्र अस्तित्वमा रहनेगरीको खेल खेल्दै आएको टिप्पणी गर्नुभएको थियो । एमाले महासचिव शंकर पोखरेलले पनि नेपालमा कांग्रेसले प्रतिनिधित्व गर्दै पुँजीवादी र एमालेले प्रतिनिधित्व गर्ने समाजवादी धार मात्रै रहेको बताउँदै आउनुभएको छ । यही पृष्ठभूमिमा डा. भट्टराईको अभिव्यक्ति आएको हो । नागरिक खबरबाट