
काठमाडौँ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले माथिल्लो पदमा महिला पुग्दैमा देशमा महिलाका समस्या समाधान नहुने बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले माथिल्लो पदमा पुगेका महिलामा महिलाका लागि केही गरौ भन्ने भावना हुनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले आफु महिला मन्त्री भएर राष्ट्रपति रहेकी महिलालाई भेट्न नपाएको गुनासो गर्नुभयो । राष्ट्रिय महिला दिवसका अवसरमा उहाँले विशिष्ट अतिथिका रूपमा राष्ट्रपति विद्या भण्डारीलाई निमन्त्रणा गर्दा कार्यक्रममा नआएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रपतिले पूर्वाग्रह राखेर कार्यक्रममा नआएको बताउँदै भन्नुभयो, ‘म महिलाहरूको नेतृत्व गर्ने महिला मन्त्री भएर पनि महिला नै राष्ट्रपति रहेको व्यक्तिलाई भेट्न सकिन ।
जो महिला पदमा पुगेको छ उसले आग्रह पूर्वाग्रह राखेर हुन्छ रु मैले अन्तरपार्टी सञ्जालको नेतृत्व गरेको १९ वर्ष भयो । महिलाको दिमागमा पनि महिलाका लागि केही गरौं भन्ने भावना हुनुपर्छ । एक दुई जना महिला माथि पुग्दैमा डोको महिलाको समस्या समाधान हुँदैन ।’ उहाँले माथिल्लो ओहोदामा पुगेका महिलाले महिलामैत्री दृष्टिकोण राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘महिला हिंसा बढिरहेको सबैलाई थाहा छ ।
पुरुष प्रहरी छ भने महिलाले न्याय पाउन गाह्रो छ । पितृसत्ताका कारण महिला हिंसा बढिरहेको छ । अदालतबाटै न्याय नपाएको अवस्था छ । कानुनमा र वा प्रावधान राखेर महिलाले न्याय नपाएको अवस्था छ । कर्मचारी महिला वा पुरुष होस् तात्विक अन्तर छैन्, कर्मचारीले खतरा मोलेर काम गर्न नचाहने अवस्था रहेको छ ।’ उहाँले महिला आयोगभित्र एउटा समिति बनाएर महिला सम्बन्धि विभेदकारी कानुनबारे अध्ययन गरेर दवाव अगाडि बढाउनपर्ने उल्लेख गर्नुभयो ।
धेरै महिला तथा बालबालिका पीडित हुन थालेको र मन्त्रालयमा बजेट कम रहेको गुनासो गर्नुभयो ।७५ प्रतिशतभन्दा बढी जनसङ्ख्यासँग सरोकार राख्ने मन्त्रालयमा बजेट कम रहेको र अहिले आफु आएपछि १ अर्ब पुर्याउन सफल भएको उल्लेख गर्नुभयो । सिडियोले फोन गरेर महिलालाई न्याय दिलाउन सम्पर्क पोइन्ट नभएको भन्ने गुनासो आउने गरेकोले मन्त्रालयमा एउटा सम्पर्क पोइन्ट बनाउने उहाँको भनाई छ । ४ जना कर्मचारी मात्र भएपनि सम्पर्क केन्द्र बनाउने त्यसका लागि नीति कार्यक्रममा बजेट व्यवस्था गर्न आफुले पहल गरिरहेको बताउनुभयो । रातोपाटीबाट