
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली इतिहासकै एक कुपात्र भएको टिप्पणी गर्नुभएको छ । उहाँले ओली रावण, कंश, शिशुपाल र हिटलरसँग तुलना गर्नुभयो । आइतबार बिहान समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीको कटु आलोचना गर्नुभएको हो ।
‘ठ्याक्कै रावणको प्रवृत्ति केपी ओलीमा देखिएको छ । पौराणिका साहित्यको अध्ययन पनि गर्नुपर्छ । रावण, कंश, शिशुपालदेखि हिटलरसम्मले के–के गरे ? हिटलरले कतिओटा कुकृत्य थिए ? ठ्याक्कै तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस्,’ उहाँले भन्नुभयो ।कम्युनिस्टहरु सबै तानाशाह नहुने नेपाले बताउनुभयो । तर, कम्युनिस्टको आवरणमा पनि तानाशाहहरु जन्मिन सक्ने भन्दै उहाँले ओलीको उदाहरण दिनुभयो ।
समयमै सचेत नभए पछि पछुताउनुको विकल्प नहुने भन्दै उहाँले कांग्रेसलाई चेतावनी दिनुभयो । ‘मैले कांग्रेसका नेताहरुलाई पनि भनेँ , तपाईंहरुले जानीजानी त्यस्ता कुपात्रलाई विश्वास गर्नुभयो भने देशको प्रजातन्त्र, संघीयता, संविधान सबै खतम हुन्छ । अनि पछुताएर हुन्छ के ? केपी ओलीले जम्मै सिध्याएपछि टाउकोमा हात नराखेर के गर्ने ?,’ उहाँले भन्नुभयो ।
अध्यक्ष नेपालले ओली प्रधानमन्त्री छँदा बालुवाटारमा बंकर बनाएर प्रतिनिधिसभा विघटनलगायत जाल बुनेको आरोपसमेत लगाउनुभयो । बंकरमार्फत् राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीशसँग बारम्बार भेट्दै असंवैधानिक कदम चाल्न षड्यन्त्र गरेको अध्यक्ष नेपालको आरोप छ ।‘उहाँले (केपी ओली) त्यहाँ घर बनाए । घरमा बंकर पनि बनाएका छन् । बंकर किन बनाएका होलान् त,’ उहाँले भन्नुभयो,‘नेपाली सेनाका प्रधानसेनापति र राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुराकानीहरु भए ।’
बालुवाटारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग हप्तामा दुईदिन भेटेर स्थानीय चुनावमा कुन–कुन न्यायाधीशलाई कहाँ–कहाँ खटाउनेदेखि प्रहरीका मान्छेलाई बोलाएर कुन प्रहरीलाई कहाँ खटाउने सबै वर्कआउट भइसकेको नेपालले आरोप लगाउनुभयो । उहाँले एमाले अध्यक्ष ओलीले गरेका गलत कामको सूची बनाएर सार्वजनिक गर्न उनले पार्टीनिकट पत्रकारहरुलाई निर्देशनसमेत दिनुभयो । नागरिक खबरबाट