भू–उपयोग नियमावली छिट्टै आउँछ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरू स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिनुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टी च्यामबर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढाएर स्वाधीन अर्थतन्त्रको विकास गर्ने गरी बजेटमार्फत विशेष योजना ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको हो ।

मन्त्री श्रेष्ठले जग्गाको चक्लाबन्दी गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै आउने बताउँदै यसबाट कृषियोग्य जमिनमा भइरहेको खण्डीकरण रोक्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । संविधान, ऐन नियम र नियमावलीहरू बने पनि त्यसको कार्यान्वयन हुन नसकेका कारण भूमि सम्बन्धी समस्या हालसम्म पनि समाधान हुन नसकेको भन्दै आफूले जग्गासम्बन्धी समस्या दिगो रूपमा गर्न खोजिरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ठूलाठूला भाषण गरेर मात्रै विकास काम नहुने रैछ त्यो हामीले देखिसकेका छौँ । त्यसका लागि अहिले नागरिकले अनुभूति गर्ने गरी काम गर्न सुरु भइसकेको छ ।’ मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितमा आफूले सुरु गरेको कामको पक्ष र विपक्षमा तर्क वितर्क सुरु भइसकेको भन्दै राष्ट्रहित र मुलुकको समृद्धिको काममा कोही पनि विभाजित हुन नहुने पनि बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार