आगामी निर्वाचन सामान्य नभइ अधिकार प्राप्तिको लडाइँँ हो : प्रचण्ड

जनकपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य नभइ प्राप्त उपलब्धिको रक्षा गर्ने र थप अधिकारका लागि लड्ने अभियान भएको बताउनुभएको छ ।

सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा उहाँले अहिले पनि संविधानलाई मास्न र उपलब्धिलाई समाप्त पार्न कतिपय शक्ति लागि परेकाले त्यसको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने अभियानका रूपमा निर्वाचनलाई लिनुपर्ने बताउनुभयो ।

‘नेपालीको आत्मसम्मानको रक्षा गर्ने, प्रतिक्रियावादीलाई परास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षा गर्ने, समानता र आत्मसम्मानको रक्षा गर्ने वा प्रतिक्रियावादीलाई छोडिदिने भन्ने लडाइँ हो अहिलेको निर्वाचन’, उहाँले भन्नुभयो, ‘त्यसै पनि यो निर्वाचन सामान्य निर्वाचन होइन । न्याय र अन्यायको बीचको, प्रतिक्रान्ति र क्रान्तिबीचको, प्रतिगमन र अग्रगमनबीचको, मधेसी समुदायको हकअधिकार अझ थप्ने वा खोस्नेको बीचको लडाइँका रूपमा लिएका छौँ ।’

माओवादीकै कारण देश अहिलेको अवस्थासम्म आइपुगेको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘जनयुद्ध, १२ बुँदे सम्झौता, शान्ति सम्झौता, सङ्घीय लोकतन्त्रको घोषणा, संविधानसभा निर्वाचन, निर्वाचनबाट जुन समृद्ध नेपालको सपना देखेर मैले आफ्नो ठाउँबाट, मेरो पार्टी र म अध्यक्ष भएको हैसियतले धेरै त्याग तपस्या गरेर यहाँसम्म नेपाल आइपुगेको छ ।’

त्यसैले आफू प्रतिक्रियावादीका लागि घाँटीमा अल्झेको हाड जस्तै भएको उनको कथन थियो । उहाँले भन्नुभयो, ‘अहिले माओवादी केन्द्र, त्यसको नेतृत्व प्रतिक्रियावादीका लागि बडो गाह्रो परेको छ, उनीहरु अहिले पनि कसरी माओवादीलाई खुम्च्याउन सकिन्छ रु कसरी प्रचण्डलाई घेरा हाल्न सकिन्छ भनेर भए नभएको कुरा गरेर मलाई ‘ह्युमिलेट’ गर्न खोजिरहेका छन् ।’नागरिकतासम्बन्धी विधेयक पेस गर्ने विषयमा दलहरुबीच सहमति बनिसकेकाले अबको संसद् बैठकमा विधेयक पेस गरी पारित गरिने उहाँको भनाइ थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार