एकताबद्ध भएर कांग्रेसलाई जिताउनुपर्छ : अध्यक्ष गुरुङ

काठमाडौं ।नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले माउ पार्टी काँग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताउनुभएको छ । नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रममा गुरुङले काँग्रेसको नेतृत्वमा सरकार बनाउन काँग्रेसको जित अनिवार्य रहेको बताउनुभयो।

‘चाहरे पनि, नचाहेर पनि गठबन्धन गरेर चुनावमा जानु छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाज्यूले दिनुभएको निर्देशनलाई हामी सबैले मान्नुपर्छ ,’ उहाँले भन्नुभयो । ‘एमालेको अहंकार र घमण्डलाई तोडेर काँग्रेसको जित गराउनुछ’, अध्यक्ष गुरुङले भन्नुभयो , ‘एकताबद्ध बनेर काँग्रेसलाई जिताउन अनुरोध गर्न चाहन्छु ।’

उहाँले सबैभन्दा ठूलो भ्रष्टाचार स्थानीय तहमा भएको बताउनुभएको छ । ‘स्थानीय तहमा एमालेले जितेका ठाउँमा भ्रष्टाचार भएको छ । एमालेको भण्डाफोर गर्नुपर्छ’, उहाँले भन्नुभयो , ‘काँग्रेसले गरेका राम्रा कामका विषयमा जनतालाई घर–घरमा पुगेर जानकारी गराउनुपर्छ ।’

अध्यक्ष गुरुङ काँग्रेसका उम्मेदवारहरूलाई जिताउन तरुणहरूको भूमिका रहेको बताए । उनले सबै तिक्तताहरू भुलेर गठबन्धनलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले काँग्रेसले बहुमत स्थानीय तहमा जित्ने बताएका छन् । त्यसका लागि आफूहरू तयारी अवस्थामा रहेको बताए ।

कार्यक्रममा नवप्रवेशीहरूलाई तरुण अध्यक्ष गुरुङले स्वागत गरेको तरुण दल बर्दघाट नगर कार्यसमितिका अध्यक्ष विकास थापाले जानकारी दिनुभयो। नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सुक गुरुङसहितका तरुण र काँग्रेस नेताहरूको कार्यक्रममा उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार