बेनी नगरपालिका ९मा एमालेबाट वडा अध्यक्षमा खड्काको उम्मेदवारी घोषणा

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ९ घतानको वडा अध्यक्षमा मन बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । वडा कमिटीको वैठकले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बेनपा ९ नेप्टेचौर निवासी खड्का स्यालीखेत आधारभूत बिद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । सो पदबाट राजिनामा दिएर उहाँ वडा अध्यक्षको उम्मेदवार बन्नुभएको हो । उहाँले ३२ बर्ष गलेश्वर मावि तोरीपानिमा अध्यापन गराउनुभएको थियो भने हाल बिगत ८ बर्षदेखि स्यालीखेत आधारभूतमा प्रअको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

जडभरत बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष रहनुभएका खड्काले यसअघि पहिराखेत सामुदायीक बन र गलेश्वर ठूलो सल्लेरी सामुदायिक बन उपभोक्ता समितिको सचिव तथा अध्यक्षको भूमिकामा काम गरिसक्नुभएको छ ।

हाल घतान सामुदायिक अध्ययन केन्द्रका सचिव समेत रहनुभएका खड्का लामो समयदेखि शिक्षाको क्षेत्रमा क्रियाशिल रहनुभएकाले भिजन अनुसार काम गर्न सक्ने क्षमता भएका व्यक्ति हुनुहुन्छ ।

उहाँको इमान्दारिता र कार्यकुशलता हेरेर शिक्षकको जागिरमा राजिनामा गरि वडा अध्यक्षको उम्मेदवारमा अघि सारिएको नेकपा एमाले वडा कमिटी अध्यक्ष बाबुराम चोखालले बताउनुभयो ।

झन्डै ४० बर्ष बिद्यार्थीको भविस्य उज्ज्वल बनाउन खट्नुभएका खड्काले यसपछिको समय समस्त घतान बासीको सेवामा बिताउने उद्देश्य अनुरुप वडा अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।

वडा सदस्यहरुको उम्मेदवार पनि चाँडै टुङ्गो लगाई चुनावी अभियान लिएर जनताको घरदैलोमा पुग्ने वडा कमिटीले जनाएको छ । दुई मतदान स्थल र चार मतदान केन्द्र रहेको बेनपा ९ मा तीन हजार २१८ मतदाता रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार