राजश्व घटाउन र बढाउन रोइकराई गर्न छोडौं : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजश्व घटाउने वा बढाउने विषयमा रोइकराई हुने गरेको बताउनुभएको छ । सरकारले राजश्व बढाउन खोज्ने र निजी क्षेत्र सकेसम्म घटाउन खोज्ने भन्दै यो दुबै गलत भएको बताउनुभयो ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले राजश्व बढाउन वा घटाउन रोइकराई गर्ने बानी हटाएर उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । अहिले मुलुकमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै उनले वैदेशिक लगानी बढ्ने क्रममा रहेको समेत बताउनुभयो । ३र४ वटा प्रोजेक्टमा वैदेशिक लगानी आउन लागेको समेत उहाँले जानकारी दिनुभयो ।

खाद्य वस्तुको आयात अत्यधिक भएको भन्दै अर्थमन्त्री शर्माले कृषिमा रुपान्तरण जरुरी रहेको बताउनुभयो । बाँझो जमिन राख्नै नहुने भन्दै उहाँले उत्पादनमा सरकारले जोड दिने बताउनुभयो । उत्पादनमूलक उद्योगका विद्युतको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी उहाँले गराउनुभयो । आफ्नो गर्नुपर्ने काम गर्न सरकार तयार रहेको भन्दै उहाँले निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो।

निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको भन्दै कर बढी लागेर उत्पादन महंगो परेको भए त्यसमा सहजीकरण गर्न पनि सरकार तयार रहेको बताउनुभयो । स्वदेशी उत्पादन बढाउने र राष्ट्रको विकास गर्ने कुरामा सरकार गम्भीर रहेको अर्थमन्त्री शर्माको भनाइ छ । खुला सिमानाका कारण फाइदा र बेफाइदा दुबै रहेको भन्दै उहाँले चोरीपैठारी रोक्न भने विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार