म गणेशमानको बुहारी र प्रकाशमानको श्रीमती मात्र होइन : सिंह

काठमाडौँ । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाका लागि मेयरमा उम्मेदवारी दिनुभएका सिर्जना सिंहले भ्रष्टाचारमुक्त र सुशासनयुक्त महानगर लक्ष्य लिनुभएको छ । कांग्रेसको मात्र नभई अहिले उनी सत्तारुढ गठबन्धनकै उम्मेदवार बन्नुभएको छ । सिंहले  भन्नुभयो, ‘मैले जिते भने स्वच्छ र सफा महानगरमा भ्रष्टाचारमुक्त र सुशासनयुक्त पद्धतीको थालनी हुनेछ।’

त्यसो त उहाँका सपना यत्तिकैमा सीमित छैनन्। उहाँले काठमाडौं महानगर विकासका सात संकल्प अघि सार्नुभएको छ । ती संकल्पमध्येकै एउटा मुद्दाको व्याख्या गर्दै सिंह भन्नुहुन्छ, ‘मेयरमा निर्वाचित भएँ भने सुरुमा काठमाडौं सफा गर्छु। यहाँको फोहोर व्यवस्थापन गर्छु।’फोहोर व्यवस्थापन उहाँको पहिलो प्राथमिकता हो। त्यसका लागि उहाँले आफ्नो योजना सुनाउँदै भन्नुभयो, ‘मेरो योजनामा जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा राखेकी छु।

घरबाट निस्किएको फोहोर घरभित्रै व्यवस्थापन गर्न सकियो भने सयमा सय म्यानेजमेन्ट गरियो भने फोहोर जिरो हुनेछ।’कांग्रेस नेतृ सिंहकै दृष्टिकोणमा उनीसँग अर्को महत्वपूर्ण एजेण्डा पनि छ। त्यो हो, काठमाडौं महानगरभित्रका बाटो र सडक पेटीहरु। उहाँ भन्नुहुन्छ, ‘बाटोघाटोका समस्याहरु पनि त्यत्तिकै छन्। ती समस्या समाधान गरेर हिँड्न योग्य सहर बनाउनेछु,’ प्रदूषणरहित सहर, ट्राफिक जाममुक्त सहर बनाउनेछु। जताततै खाल्डाखुल्डी रहेको सडक व्यवस्थापन गर्नतिर लाग्नेछु।’

सिंहले अघि सारेका संकल्पमा, ‘सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहर’ छन्। त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुनत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील महानगरबासीलाई पनि उहाँले समेट्नुभएको छ । आफू महिला प्रतिनिधि भएकाले महिलाको पीडा देखेको र भोग्दै आएको भन्दै ती समस्या समाधानका लागि प्राथमिकता दिने उहाँले बताउनुभयो।

‘एउटा महिला प्रतिनिधि भएकाले महिलाहरूको लागि विशेष योजना अघि सार्नेछु। काठमाडौंमा विभिन्न किसिमका महिलाहरू छन्। आर्थिक विपन्नता भएका महिलाहरू पनि छन्,’ उहाँले भन्नुभयो, ‘विपन्न वर्गका महिलाहरूलाई लक्षित गरेर श्रमको सम्मान गर्दै विशेष राहत प्याकेज ल्याउनेछु। घरमा बस्ने महिलाको श्रमको कुनै सम्मान छैन। उनीहरूका लागि विशेष प्याकेज ल्याउनेछु।’

उहाँले पुरुष मेयरले गर्न नसकेका काम आफूले गरेर देखाउने बताउनुभएको छ । ‘२५औं वर्षदेखि पुरुष मेयरले काठमाडौं महानरलाई चलाउन नसकेर लथालिङ्ग बनाए, पुरुष मेयर धेरै हेर्‍यौं, महिला निर्वाचित भए परिवर्तन आउँछ भन्ने मेरो सोच हो’, सिंहले भ्न्नुभयो, ‘अब महिलालाई पालो दिनुस म देखाउँछु महानगर कसरी चलाउनेरु’

गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवार नभएको सिंहको भनाइ छ। ‘मेरो आफ्नै राजनीतिक इतिहास छ। विद्यार्थीकालदेखि राजनीतिमा होमिएकी हुँ। विभिन्न राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निवाह गरेकी छु।’ राजनीतिमै ४५ वर्ष बिताएको उहाँले सुनाउनुभयो।

‘म गणेशमान र मंगलादेवी सिंहको बुहारी, राजनीतिक परिवारबाट आएको शिक्षित महिला हुँ। बहुदलीय व्यवस्था ल्याउनका लागि हाम्रो परिवारको ठूलो योगदान थियो। रैतीलाई नागरिक बनाउन भनेर अग्रसर भएको परिवारको सदस्य हुँ,’ सिंहले भन्नुभयो। देश परिवर्तनका लागि आफ्नो परिवारको भूमिका महत्वपूर्ण रहेको बताउँदै सिंहले मेयर पदका लागि आफू नै उपयुक्त भएको दाबी गर्नुभयो।

‘प्रधानमन्त्री बन्न आएको प्रस्ताव मेरो ससुराले त्याग्नुभएको थियो । सासुको सम्पूर्ण जीवन महिला हक अधिकारका लागि खर्च भएको थियो। मेरो परिवारले अहिलेसम्म देशको लागि केही नराम्रो काम गरेको छैन। देशका लागि अग्रपंत्तिमा रहेर योगदान गरेको परिवारको उम्मेदवार भएकाले सबैले मतदान गर्नुहुन्छ भन्ने लाग्छ।,’ उहाँले भन्नुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार