अख्तियारमा उजुरी परेको विषयमा सुनिताले भनिन्–राजनीतिक प्रतिशोध साँध्न खोजियो

काठमाडौँ । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी सुनिता डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न गलत आरोप लगाइएको बताउनुभएको छ । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै तत्कालीन अवस्थामा काठमाडौं महानगरपालिकामा छैटौँ तहको कर्मचारी भएर सेवासुविधा लिएको सुनिताको भनाइ छ ।

‘राजनीतिक करिअर अगाडि बढाइराख्दा थुप्रै खालका आक्षेपहरू लाग्ने गरेको छ । यो चुनावको बेला गरिने प्रोपोगाण्डा मात्र हो,’ सुनिताले भन्नुभयो । आफूले लगभग चार वर्ष सहायक विज्ञको रूपमा काम गरेको उहाँको भनाइ छ । तलब भत्ता ८० हजार नभई लगभग ४५ हजारको हाराहारी लिएको बताउनुभयो । ‘तलब मासिक ८० हजार लिएको थियो भनिएको छ । छैटौँ तहको कर्मचारीले लिने सेवासुविधा मैले लिएकी थिएँ । मेरो त्यही ४० देखि ४५ हजारसम्म थियो,’ सुनिताले भन्नुभयो ।

नगरसभाबाट भएको निर्णयअनुसार नै आफू सहायक विज्ञको रूपमा काम गरेको भन्दै उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले तपाईं विज्ञता हामीलाई चाहियो भनेपछि मैले काम गरेकी हुँ ।’ उजुरी परेको सम्बन्धनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले पनि आफ्नो जानकारीमा नआएको बताउनुभयो । ‘उजुरी परेकोबारे धेरै पत्रकार साथीहरूले फोन गर्नुभएको छ । तर, मेरो जानकारीमा छैन्,’ भण्डारीले भन्नुभयो । काठमाडौं महानगरपालिकामा विज्ञको रूपमा काम गर्दा शैक्षिक योग्यता ढाँटेर चार वर्ष काम गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको समाचार बाहिरिएको थियो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार