भ्रष्ट्राचारमुक्त स्थानीय तह बनाउने उद्देश्य छ : दिपकबहादुर सिंह

मकवानपुर । मकवानपुर राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का हेटौँडा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले भ्रष्टाचारमुक्त स्थानीय तह बनाउने उद्देश्य बोकेर उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले भ्रष्ट्राचारले देश सखाप भएकाले त्यसको न्युनिकरणलाई आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले हेटौंडाबासीको माया र मागका कारण आफूलाई पार्टीले उम्मेदवार बताएको बताउनुभयो ।

सिंहले हेटौंडालाई समृद्ध बनाउनका लागि आफू सदैव लाग्ने र त्यसका लागि विज्ञहरुको सल्लाहमा योजनाहरु ल्याउने बताउनुभयो । ‘हेटौंडाको समृद्धि, विकास र भ्रष्टाचारमुक्त स्थानीय तह बनाउन हेटौंडाको जनताको माग र मायाका कारण मलाई पार्टीको हाई कमाण्डबाट उम्मेदवार बनाएको हो ।’

उहाँले भन्नुभयो, ‘यहाँका युवा, महिला र जनताले मलाई माया र विश्वास गरेर भ्रष्टाचारमुक्त हेटौंडा बनाउन गरेको आग्रहले मैले उम्मेदवारी दिएको हुँ ।’ हेटौंडा भ्रष्ट्राचार नहुनासाथ विकास र समृद्धिका कामहरु तिब्र ढंगले अघि बढने उहाँको भनाई थियो ।

सिंहले मतदाताको विश्वास नतोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘मैले र मेरो परिवारले बेइमानी गरेर एक कौडी पनि खाएका छैनौ । म मेरा मतदाताहरूको विश्वास तोड्दिन र कसैलाई बेइमानी पनि गर्न दिनेछैन ।’

हेटौंडाको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेकोले आफू विजयी भएपछि हेटौंडा अस्पतालमा विशेषज्ञ सेवा सहितको सुविधायुक्त बनाउने बताउनुभयो । हेटौंडाको चक्रपथलाई पुरा गर्ने, घरघरमा वृद्धाभत्ता पुर्याउने व्यवस्था गर्ने लगायतका कामहरु आफ्नो योजनामा रहेको उहाँले बताउनुभयो ।

हेटौँडालाई चार वर्षभित्र महानगरपालिका बनाउने सोच रहेको उहाँको भनाई छ । हेटौंडाको विकासका लागि विज्ञहरु नियुक्त गरि हरेक क्षेत्रको विकासमा सक्रियतापूर्वक काम गर्ने उहाँले बताउनुभयो । उहाँले आफु हेटौंडाको मेयरमा विजयी भए कुनैपनि सरकारी सेवा सुविधा नलिने, सवारी साधन प्रयोग नगर्ने बताउनुभयो । उहाँले मेयरका लागि आउने सरकारी सेवा सुविधा बापतको तलब भत्तामा व्यक्तिगत रुपमा २ गुणा थप गरेर १९ वटै वडामा शिक्षा, स्वास्थ्य तथा विकासमा खर्च गर्ने बताउनुभयो ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार