भरतपुरमा आचारसंहिता मिचेर भूमिको निस्सा बाँडिंदै

चितवन । चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन आचारसंहिता मिचेर भूमिको निस्सा बाँड्न थालिएको छ । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्काले शुक्रबार बिहान सुकुमबासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँड्नुभएको हो । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उहाँहरुले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँड्नुभएको हो ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताउनुभयो । उजुरी आए तिमिल्सिना माथि कारबाही गर्न सकिने कार्कीले बताउनुभयो । निर्वाचनको मुखैमा भूमिहीनको नाममा भूमिको निस्सा बाँड्न पाइँदैन,’ उहाँले भन्नुभयो, ‘हाम्रो कार्यालयमा उजुरी आयो भने हामीले सम्बन्धितलाई स्पष्टिकरण सोध्छौँ । आवश्यक परे थप कारबाही पनि हुनसक्छ ।’

तिमिल्सिनाले फेसबुकमा निस्सा बाँडेको फोटो राखेर एक स्टाटस राख्दै भूमिहीन सुकुमबासीले मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीलाई विजयी गराउन प्रतिबद्धता जनाएको उल्लेख गर्नुभएको छ । मतदातालाई प्रभावित पार्न निस्सा बाँडिएको कार्यक्रममा साझा उम्मेदवारलाई जिताउने प्रतिबद्धता आएको उहाँले दाबी गर्नुभएको छ ।

तिमिल्सिनाले भूमिहीनलाई निस्सा बाँडेको स्वीकार गनुभयो । लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उहाँको आफ्नै परिभाषा सुनाउनुभयो । ‘मैले बाँड्न सुरुवात गरेर हिँडेको हो । कति जनालाई बाँडे थाहा भएन,’ उहाँले भन्नुभयो, ‘मैले लालपुर्जा बाँड्न पाउँदिनँ । निस्सा बाँड्ने काम, जग्गा नाप्ने काम भइराख्ने रहेछ ।’

कार्यक्रममा सहभागी एक स्थानीयले माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्ष र मेयरका उम्मेदवारलाई भोट हाल्न दवाव समेत दिइएको छ । आयोगका पदाधिकारीले माओवादीलाई भोट नहाले निस्सा र लालपुर्जा नपाउने चेतावनी समेत दिएका छन् । आयोगका केन्द्रीय उपाध्यक्ष सरकारी गाडी लिएर निस्सा बाँड्न गणेशस्थान पुग्नुभएको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार