फेवातालको अतिक्रमण हटाउन गठबन्धनलाई भोट दिनुस् : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेवाताल अतिक्रमण हटाउन गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनुभएको छ । पोखराको पहिचान जोगाउन महत्वपूर्ण रहेको भन्दै उहाँले गठबन्धनलाई मतदान गर्न आह्वान गर्नुभयो ।

‘फेवाताल जोगाउने काम तपाईंले गर्नुपर्छ, अतिक्रमण हटाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘पोखराको पहिचान जोगाउन मेयर र उपमेयरमा गठबन्धनलाई भोट दिनुस्।’पाँच दलीय गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले संसारकै मान्छे आकर्षित गर्ने पोखरा जोगाउन आवश्यक रहेको बताउनुभयो।

पोखराका तालतलैयाको संरक्षण र पर्यावरणको रक्षा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। गठबन्धनका उम्मेदवारले भ्रष्टाचार नगर्ने भन्दै उहाँले महानगरभित्रका भ्रष्टाचार हटाउने दाबी गर्नुभयो । अर्को प्रसंगमा नेपालले नेकपा एमाले निर्माण गर्ने केपी ओलीको कुनै भूमिका नभएको दाबी गर्नुभयो।‘एमाले हामीले बनाएका थियौं,’ उहाँले भन्नुभयो, ‘एमाले निर्माण गर्न केपी ओलीको कुनै भूमिका थिएन।’

विगतमा कांग्रेस र कम्युनिष्ट मिलेर अहिलेसम्मका परिवर्तन आएको भन्दै मिलेर नै पटक पटक सरकार गठन गरेको उहाँले बताउनुभयो। संविधान र गणतन्त्रको रक्षा गर्न अहिलेको गठबन्धन बनाउन परेको नेपालको भनाइ छ। कार्यक्रममा बोल्दै पोखराका मेयर उम्मेदवार धनराज आचार्यले अस्तव्यस्त पोखरालाई व्यवस्थित बनाउन आफ्नो टिम लागिपर्ने बताउनुभयो ।यस्तै, उपमेयर उम्मेदवार कोपिला रानाभाटले पोखरा महानगरमा आफ्नो टिमले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार