तिब्बतसँग जोडिएका हुम्ला र डोल्पाका सीमा नाका ३० गते रातिसम्म बन्द

सुर्खेत । शुक्रबार हुने स्थानीय तहको निर्वाचन लक्षित कर्णालीमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । जस अन्तर्गत तिब्बततर्फ हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको त्यहाँ सुरक्षा अधिकारीहरूले बताएका छन् । १० जिल्ला रहेको कर्णालीको भारतसँग सिधा खुला नाका छैन ।

दक्षिणतर्फ बाँके र बर्दियासँग जोडिएकाले बाँके र सुर्खेतको बीचमा रहेको बबई नाकामा पनि कडा निगरानी राखिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ हाम्रो खुल्ला नाका छैन । बाँकेबाट आउने सवारी साधन उतैबाट बन्द हुनेभएकोले हामीलाई त्यही समस्या छैन ।’

हिमाली जिल्ला हुम्लामा चीनसँग जोडिएका सीमा नाकाहरू भने पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले जानकारी दिनुभयो । तिब्बतसँग जोडिएको ठुलो नाकाको रूपमा हिल्सा नाकालाई लिइन्छ । यो नाका नाम्खा गाउँपालिकामा पर्दछ । उक्त नाका मंगलबार मौन अवधि सुरुभएदेखि बन्द गरिएको छ,’उहाँले भन्नुभयो,‘ चीनतर्फबाट भने कोरोना भाइरस (कोभिड–१९)को समय देखिनै बन्द गरेको छ ।

खासै आवतजावत नभए पनि हाम्रो तर्फबाट वैशाख ३० गते रातीसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।’ पौडेलले वैशाख २१ गते नै सीमा नाका बन्द गर्ने निर्णय भएको बताउनुभयो । हिल्सा बाहेक अन्य लिमी लाप्चा, दोजाङ, नेप्का लगायतका साना खुला सीमाहरूमा पनि सुरक्षा व्यवस्थालाई कडा गरिएको अधिकारीहरूले बताएका छन् । यता डोल्पामा भने तिब्बतसँग जोडिएका क्षेत्रमा खटिएका सुरक्षा अधिकारीहरूसँग सम्पर्क हुन सकिरहेको छैन ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले भने,‘ सिमानाकामा रहेका सुरक्षा अधिकारीहरूसँग कुनै सम्पर्क हुन सकिरहेको छैन । यहाँ खुला नाका भनेर चिनिने भनेको तितर हो । यद्यपि त्यहाँ यसअघिदेखि नै कडा सेक्युरिटी प्रदान गरिएको अवस्था छ । कोभिडको समयदेखि आवतजावत गर्ने त्यस्तो अवस्था पनि छैन ।’ उहाँका अनुसार डोल्पाका खुला सीमा नाकाका रूपमा क्याटो र मरिमलाई पनि लिइन्छ । त्यहाँ पनि सुरक्षा कडा गरिएको उहाँले बताउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार