रवीन्द्र मिश्रको पार्टी निर्वाचन परिणामले अत्यन्तै दुःखी, भन्यो – आर्थिक स्रोत भएन

काठमाडौँ । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनको नतिजा अपेक्षाकृत नआएको जनाएको छ । निर्वाचनको नजिताले पार्टीलाई अत्यन्तै दुःखी पनि बनाएको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘स्थानीय निर्वाचन– २०७९ को परिणाम आउने क्रम जारी छ ।

विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा हामी अत्यन्तै दुःखी छौँ’, पार्टी प्रवक्ता शरदराज पाठकले भनेका छन् ।मिश्र नेतृत्वको पार्टीले २०७४ मा स्थानीय, प्रदेश, संघीयसँगै पछि उप र पुनः निर्वाचन हुँदा पनि प्रतिस्पर्धा गरेको थियो । तीन तहको निर्वाचनबाट देशभरि पार्टीको परिचय स्थापना गर्न सफल भएको पनि प्रवक्ता पाठकले बताएका छन् ।

तर, निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको पाठकको भनाइ छ ।नजिता पार्टीको पक्षमा नआउनुलाई पार्टीमा आएको टुटफुट र वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि भएको निष्कर्ष उक्त पार्टीको छ । पार्टीले मतदातासँग क्षमा पनि मागेको छ ।

‘हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो । हामी त्यसमा क्षमा प्रार्थी छौँ’, विज्ञप्तिमा उल्लेख छ ।  मिश्र नेतृत्वको पार्टीले हालै ‘विचारभन्दा माथि देश’को राजनीतिक कार्यदिशा अंगालेको छ । यसलाई धेरैले मन पराएका छैनन् ।सोही कारण पार्टीमा विवाद पनि भएको प्रवक्ता पाठकले स्वीकारेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार