दग्नाम भुमे पुजाको लिङ्गो जुधाइ,कान्छी गाउँ बिजयी

दग्नाम। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा परम्परागत रुपमा भुमे पुजाको अवसरमा हुने लिंङ्गो जुधाई मंगलवार सम्पन्न भएको छ । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा यो बर्ष कान्छी गाउँ बिजयी भएको हो ।

करिब चार सय बर्ष पुरानो इतिहाँस बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो बर्ष पनि दग्नामबासीले निरन्तरता दिएका हुन् । बिशेष गरी प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँ बिच लिङ्गो जुधाउने गरिन्छ ।


दग्नामको भूमे पुजाको मुख्य आक्रषणको रुपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दग्नामको गैरी गाउँ र कान्छी गाउँले सहभागीता जनाउँदै आएका छन् । प्रकृतिको पुजा स्वरुप मंगलवार दग्नाममा भुमे पुजा पर्वको अवसरमा दुई गाउँका स्थानियले मुल्का डाँडामा ध्वजा पतकाले सिंगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएको एकता क्लव दग्नामका अध्यक्ष आर्मिन पुर्जाले बताउनुभयो । उहाँले भन्नु भयो ‘भुमे पुजाको दोस्रो दिन पुर्ख्यौली नृत्य तेस्रो दिन साँस्कृतिक कार्यक्रम र त्यस पश्चात विभिद खेलकुद कार्यक्रम सञ्चालन गरिने’ छ ।

दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाइको अबलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामबासी लगायत अन्य छिमेकी गाउँका सर्वसाधारणको समेत बाख्लो उपस्थिति रहेको थियो ।


स्थानिय पुख्यौली गित, नृत्य, पञ्चेवाजाको रमाईलो उत्सवका विच स्थानियले मंगलवार विहान भुमे देवताको पुजा गरेपछी दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागी लिङ्गो जुधाएको जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनले जानकारी दिनुभयो ।“यो हाम्रो संस्कृति हो, यसले दग्नामको पहिचान बोकेको छ, परम्परादेखि चल्दै आएको लिङ्गो जुधाउने प्रतियोगितालाई निरन्तरता दिन हामी लागीरहन्छौँ ’’– उहाँले भन्नुभयो । ” केही बर्ष अगाडि सम्म दुई गाउँबिच प्रतिष्ठालाई बढवा दिएर लिंगो जुधाउने गरिने भएपनि पछिल्लो समय भने रमाइलो, खुसियाली र भावनात्मक प्रतिस्पर्धाको रुपमा लिङ्खो जुधाउने गरिएको छ ।

जेठा भुमेको रुपमा चिनीने भएकाले दग्नामबासीले हरेक बर्षको जेष्ठ महिनामा बर्षभरिको खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस, स्थानियबासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौदेखी भुमे देवताको पुजा गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार