सिन्धुपाल्चोक । मतगणनाको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ । दुवै पक्षबीच कुटाकुट र ढुंगामुडा हुन थालेपछि स्थानीयको गुहारमा झडपलाई रोक्न गुन्सा क्षेत्रमा चारैतिर सुरक्षाकर्मी फैलिएका छन् ।
बुधवार मत गणनाको क्रममा तीन मत हराएको र चार वटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि पुन मतगणना गर्नुपर्ने माग राख्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणनालाई रोकेका थिए । यही विवादबीच त्रासका कारण सहायक मतदान अधिकृत र एक गणक सुटुक्क हिँडेका थिए । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाअनुसार दुवै पक्षबीचको कटुभावले झडप भएको र सुरक्षाको लागि घटनास्थलमा सुरक्षाकर्मी खटाइएको छ ।
बुधवार घटनास्थलमा प्रजिअ खनाल, निर्वाचन अधिकारीको टोली पुगेर विवाद मिलाएको थियो । सोक्रममा वडामा हराएको तीन मतबारे सहमति गराई मतगणना सम्पन्न गरिएको थियो । ‘मत गणना पाँचपोखरी थाङपाल गाउँपालिका भवनमा शान्तिपूर्वक भइरहेको छ, यसले त्यहाँ असर नगरेपनि झडपलाई नराम्रो रुप लिन नदिन सर्तकता अपनाइएको हो,’ प्रमुख जिल्ला अधिकारी खनालले भन्नुभयो । उहाँका अनुसार वडा नं. ५ मा १५ मतान्तरले एमालेका काले गोले विजयी हुनुभएको छ ।
त्यही विषयले यहाँ तनावको स्थिति सिर्जना भएको हो । कांग्रेस क्षेत्र न २ का महाधिवेशन प्रतिनिधि कालिका गोलेकाअनुसार बिहीवार बिहान गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गरेका कांग्रेसका एक कार्यकर्तालाई एमालेका कार्यकर्ताको समुहले बाटो छेकेर कुटपिट गर्दै मोटरसाइकल तोडफोड गरेका थिए । त्यसपछि झडपको स्थिति बनेको थियो । पछि कांग्रेसका कार्यकर्ताले एमालेबाट नवर्निवाचित वडाध्यक्ष गोलेको घरमा ढुंगामुडा र तोडफोड गरेका थिए ।
एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि त्यसक्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।‘आहिले झडप धेरै हदसम्म शान्त भइसकेको अवस्था छ, नवर्निवाचित वडाध्यक्षको घरमा ढुंगामुडा र तोडफोड भएको कुरा छ, ती समुहलाई पनि खोजिरहेका छौँ,’ उहाँले भन्नुभयो । यसअघि मतदानको दिन यहाँ एमाले, राप्रपा लगायत दलले बुथ कब्जा गरेको आरोप लागेको थियो । ekantipurबाट