म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, घारापानी घर भई हाल पोखरा बस्दै आएकी ४३ वर्षीया धनमायाँ सुनार सात दिनदेखि सम्पर्कविहीन भएकी छन् । पोखरा महानगरपालिका–२५ मा बस्दै आएकी सुनार गत साउन २९ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको आफन्त सन्दिप रसाईलीले जानकारी दिनुभयो ।
घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी उनको परिवारले सम्भावित स्थानमा खोजी गर्दा समेत फेला पार्न नसकेपछि प्रहरीलाई जानकारी गराएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले समेत धनमायाँको खोजी कार्यलाई तीव्र बनाएको जनाइएको छ ।
कास्कीका विभिन्न स्थानका साथै म्याग्दीमा रहेका आफन्त तथा चिनजानका व्यक्तिहरूमार्फत खोजी गरिए पनि हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन ।
सम्पर्कविहीन धनमायाँलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन आफन्तले आग्रह गरेका छन् । उनको खोजीका लागि परिवारले फोटोसहित सूचना सार्वजनिक गर्दै सहयोगका लागि सबैमा अनुरोध गरेको छ ।














