मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले जेठ १३ गते विहान ११ बजे वर्षे अधिवेशन आह्वानको लागि सिफारिस गरेको हो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरुलाई उपचार खर्च स्वरुप ५० हजार रुपैयाँ दिने गरी कार्यविधि पास गरेको छ । सरकारले यसअघि नै हृदयघात, मस्तिस्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका विरामीहरुलाई उपचारको लागि ५० हजार दिने निर्णय गरेको थियो । तर, कार्यविधि नबन्दा सर्वसाधारण जनताले सो सेवा प्राप्त गर्न समस्या भइरहेको अवस्थालाई मध्येनगर गरी आजै कार्यविधि पास गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभएको छ ।
त्यसैगरी सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत बृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको छ । ‘बृद्धाश्रममा जाडो महिनामा बृद्धबृद्धाहरुलाई आगो ताप्नको लागि दाउरा आवश्यक पर्ने भएपनि समस्या भइरहेको थियो, त्यस्तै घाटमा शव जलाउनको लागि पनि दाउरा आवश्यक हुन्छ । हामीले यो समस्या समाधानको लागि दाउराको सहज आपूर्तिको प्रबन्ध मिलाउने निर्णय गरेर सम्बन्धित निकायमा जानकारी गराइसकेका छौँ ।’ मन्त्री खनालले भन्नुभयो । रातोपाटीबाट