जहाज दुर्घटनाको जानकारी गराउँदा स्तब्ध छौं : तारा एयर

काठमाडौं । हिजोदेखि सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र उद्धार कार्य जारी रहेको तारा एयरले जनाएको छ ।

तारा एयरले आज बिहान विज्ञप्ति जारी गरी १४ हजार ५०० फिटको उचाइमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । जहाज दुर्घटनाको जानकारी गराउँदा स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार फिस्टेल एयरको ९ एन एजेआर हेलिकोप्टर आज बिहान ८ः१० बजे दुर्घटनास्थलमा अवतरण गरेर जहाज दुर्घटनाको पुष्टि गरेको थियो ।

त्यसअघि नै यार्सागुम्बा संकलनमा गएका स्थानीयले जहाज दुर्घटना भएको अवस्थामा फेला पारेका थिए । उनीहरुले पठाएको जहाज दुर्घटनाको फोटो र सूचनाको आधारमा सुरक्षाकर्मीसहित उद्धारकर्ताको टोली परिचालित भएको थियो ।

खोज तथा उद्धारमा नेपाली सेना, एयर डाइनेष्टी, कैलाश हेलिकोप्टर र फिस्टेल एयरको हेलिकोप्टर परिचालन गरिएको थियो । जहाज दुर्घटना भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले ‘विमानका कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताउनुभएको छ ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।

क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा हुनुहुन्थ्यो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार