स्वतन्त्र परराष्ट्र नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय स्वार्थमा आधारित संविधानतः सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता रहने बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयको आयोजनामा ‘नेपालको परराष्ट्र नीतिः विगत वर्तमान र भविष्य’ विषयमा मंगलबार पहिलो पटक सञ्चालित ‘प्राध्यापक यदुनाथ खनाल प्रवचन शृङ्खला’मा सम्बोधन गर्दै मन्त्री डा. खड्काले नेपालले छिमेकी र अन्य मुलुकसँग सोही आधारमा मैत्रीपूर्ण र असल सम्बन्ध विकास गर्दै आएको स्पष्ट गर्नुभयो।

उहाँले विश्वमा शक्ति राष्ट्रहरुको स्थिति र सम्बन्धमा उतारचढाव आउने क्रम जारी रहेको र हालैको रुस-युक्रेनको युद्धका कारण भएको मानवीय र आर्थिक क्षतिबाट बाँकी विश्व प्रभावित भइरहेको स्थितिमा देखिएका साझा चुनौतीको सहकार्यमूलकरूपमा सामना गर्नुको विकल्प नरहेकामा जोड दिनुभयो।मन्त्री डा. खड्काले जलवायु परिवर्तन, आर्थिक उतारचढाव, जनसङ्ख्या वृद्धि, साइबर सुरक्षाजस्ता क्षेत्रले अबको वैदेशिक नीति र सम्बन्धहरुमा

असर पार्ने भएकाले ती पक्षहरुलाई ध्यानमा राखेर वर्तमान सरकारले विकास र समृद्धिको यात्रालाई अघि बढाइरहेको बताउँदै हालै नेपालमा शान्तिपूर्णरूपमा स्थानीय तहको निर्वाचन भई समावेशिताका आधारमा नयाँ जनप्रतिनिधिहरु चुनिनुले विश्वसामु मुलुकको लोकतान्त्रिक छवि कायम भएको जनाउनुभयो । उहाँले लोकतन्त्र, शान्तिप्रेमी, मानवअधिकारयुक्त राष्ट्र निर्माणमा विश्व समुदायको निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार