आईजीपी बढुवामा असन्तुष्ट पोखरेलले फेरि मागे विदा

काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले एक महिनाका लागि लिएको विदा सकिएको छ । तर उहाँले फेरि आफूलाई १० दिन विदा चाहिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाउनुभएको छ ।

आफ्ना एकजना सहयोगीमार्फत पोखरेलले विदाका लागि निवेदन दिनुभएको हो । सरकारले आफूभन्दा कनिष्ठ एआईजी सिंहलाई आईजीपीमा बढुवा गरेको भन्दै असन्तुष्टि जनाएर उहाँ १८ वैशाखदेखि एक महिनाका लागि विदा बस्नुभएको थियो । अर्का एआईजी सहकुलबहादुर थापाले पनि १० दिनका लागि विदा लिनुभएको थियो । तर तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेर उहाँ काममा फर्किनुभएको थियो ।

पोखरेल विदा बस्नुअघि मानव स्रोत तथा प्रशासन विभागका प्रमुख हुनुहुन्थ्यो । सरकारले मंगलबार मात्रै उहाँलाई सरुवा गरेर प्रदेश समन्वय विभागमा पठाएको छ भने हालै एआईजी बढुवा भएकी पुजा सिंहलाई मानवस्रोत विभागको प्रमुखको जिम्मेवारी दिएको छ । पोखरेलले आईजीपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको छ, तर उहाँको पक्षमा अन्तरिम आदेश भएन । अदालतले उहाँको पक्षमा आदेश नदिए पोखरेलले २० साउनदेखि अवकाश पाउनुहुनेछ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार