भ्रष्टाचार गरे पार्टीले कारबाही गर्छ : बलायर

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आर्थिक अनियमितता गरे पार्टीले कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

शुक्रबार प्रदेश पार्टी कार्यालयमा आयोजित स्थानीय तहमा कांग्रेसबाट निर्वाचित प्रदेशभरिका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई गरिएको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै सभापति बलायरले सो कुरा बताउनुभयो ।

अघिल्ला जनप्रतिनिधिहरुले गरेको कामको प्रकृति हेर्दै जताततै अनियमितताले गन्हाएको बताउँदै उहाँले भन्नुभयो, ‘प्रदेश समिति आइसकेपछि हामीले दिएको टिकटबाट तपाईँहरु निर्वाचित हुनु भएको छ, तपाईहरुले राम्रो गरे पार्टीको नाम उच्च रहन्छ, गलत गरे बद्नामित हुन्छौं, तसर्थ गलत काम नगर्नु होला।,’ उहाँले कांग्रेसबाट जितेका जनप्रतिनिधिले गतल काम गरेको र आर्थिक अनियमितता गरेको भेटिएमा पार्टीले नछाड्ने पनि बताउनुभयो ।

जनप्रतिनिधिहरुले व्यक्तिगत स्वार्थका लागि प्रमुख र उपप्रमुखबीच बाझाबाझ भएमा पार्टीप्रति मात्रै नभई देशप्रति अन्याय हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्ला जनप्रतिनिधिहरुको व्यक्तिगत स्वार्थकै कारण बाझाबाझ हुँदा गतिलोगरी काम हुन सकेन, अब नयाँ जनप्रतिनिधिले त्यस्तो गरेको भेटिएमा प्रदेश कार्य समितिले बाँकी राख्दैन।’

कांग्रेसले जितेको पालिका आर्थिक रुपमा चुके भन्ने आफ्नो कानले सुन्नु नपरोस् भन्दै उहाँले भन्नुभयो,‘पालिकाका प्रमुख उपप्रमुखहरु आपसमा लडे मरे भनेर पनि सुन्न नपरोस्।’ प्रमुखसँग कार्यकारी अधिकार रहेको बताउँदै उहाँले भन्नुभयो, ‘उपप्रमुखले प्रमुखलाई सहयोग गर्ने हो, भने प्रमुख भन्दा बढी समाजसँगको उत्तरदायित्वसहितको अधिकार उपप्रमुखसँग छ।’ उपप्रमुख भनेको न्यायिक समितिको अधिकारसहित भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट जितेका स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहभागी हुनुहुन्थ्यो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार