म्याग्दीमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन तथा सामाजिक परीक्षण, ११ बुँदे बेनी घोषणापत्र जारी

म्याग्दी ।‘उद्यम गरौं, उद्यमशील संस्कारको विकास गरौं’ भन्ने मूल नारासहित संगम म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा किशोरी सम्मेलन सम्पन्न भएको छ । उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम धवलागिरि गाउँपालिकाको समन्वय र गल्र्स फस्ट फण्डको आर्थिक सहयोगमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन तथा सामाजिक परीक्षण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशको बाल परिषदका पूर्व अध्यक्ष दिपा आचार्यले बालविवाह न्युनीकरण गर्नका लागि किशोरीहरुको विशेष भूमिका रहनेमा जोड दिनुभयो । उहाँले म्याग्दी जिल्लाको किशोरी सञ्जाललाई केन्द्रीय किशोरी सञ्जालमा आबद्ध हुनका लागि आग्रह गर्दै जिल्लाको दुर्गम तथा विकट क्षेत्रमा पुगेर बालविवाह विरुद्धको सचेतनामूलक अभियानलाई तीव्र रुपमा सञ्चालन गरी बालविवाहको अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो । बालविवाह न्युनीकरण गर्न सरोकारवाला निकायले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

किशोरी सम्मेलनको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बालमैत्री स्थानीय शासन तथा सामाजिक कुरिती न्युनीकरणमा सामाजिक विकास कार्यालयले खेलेको भूमिकालगायत विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी संगम म्याग्दीका स्रोतव्यक्ति भरतप्रसाद केसीले सानै उमेरमा हुने बालविवाहले पार्ने असर तथा न्युनीकरणका उपायलगायत र सहजकर्ता मुक्तिप्रसाद ढुङ्गानाले सामाजिक परीक्षणको विषयमा आधारित रहेर सहजीकरण गर्नुभएको थियो ।

सोही अवसरमा ज्योती विकास बैंक म्याग्दी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । म्याग्दीको बेनीमा सम्पन्न प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलनले बालविवाह न्युनीकरण तथा किशोरीहरुको हकहित र अधिकारसँग सम्बन्धित रहेर विभिन्न बुँदाहरु समेटेर बनाइएको ११ बुँदे बेनी घोषणापत्र पनि जारी गरिएको आयोजक संस्था संगम म्याग्दीले जनाएको छ ।

बालविवाह न्युनीकरण गर्नका लागि संगम म्याग्दीले पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको चारवटा वडाहरु लुलाङ, मुदी, मुना र ताकममा बालविवाह विरुद्धको अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानलाई वडा, पालिका र जिल्ला हुँदै प्रदेशस्तरमा पनि यसको प्रभाव पु¥याउनका लागि सहकार्य र समन्वय होस् तथा साझेदार निकायसँग बालविवाह न्युनीकरण गर्नका लागि हातेमालो र सहकार्य होस् भन्ने उद्देश्यका साथ प्रदेशस्तरीय किशोरी सम्मेलनको आयोजना गरिएको संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेलले जानकारी दिनुभयो ।

किशोरी सञ्जालका केन्द्रीय सदस्यद्वय अलिसा ठकुरी र सवनम मल्लले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम जिल्लास्तरीय किशारी सञ्जाल म्याग्दीका अध्यक्ष नरदेवी विकको अध्यक्षता, संगम म्याग्दीका सहसचिव सुनिता बेलबासेको सञ्चालन र सदस्य धनमाया श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो । सम्मेलनमा म्याग्दीसहित पर्वत, कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाको बाल सञ्जालबाट किशोरीहरुले सहभागिता जनाएका थिए ।

अशिक्षा, गरिबी र चेतनाको अभावमा हुने बालविवाहलाई रोक्न पश्चिम म्याग्दीको खासगरी दुर्गम तथा विकट क्षेत्रमा अभियान सञ्चालन गरिएको सङ्गम म्याग्दीले जानकारी दिएको छ । धवलागिरि गाउँपालिकाको समन्वय, गल्र्स फस्ट फन्डको आर्थिक सहयोग र सङ्गम म्याग्दीको आयोजनामा बालविवाह रोक्न समुदायस्तरमा सचेतनामूलक अभियान सञ्चालन भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार