न्याय पाउन बच्चालाई दूध चुसाउँदै आमाले अनशन बस्नुपर्ने अवस्था आउनु लज्जास्पद : सांसद थापा

काठमाडौँ । नेकपा एमालेकी सांसद थममाया थापाले दुधे बालक काख च्यापेर अनशनरत निहारिका राजपुतको मुद्दामा तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले एउटी आमाले दूध चुसाउँदै आमरण अनशन बस्नुपर्ने कुरा आउनु नै लज्जास्पद भएको बताउनुभयो ।

‘राजधानी काठमाडौंको सडकमा एउटा नेपाली चेली काखमा दुधे बालक बोकेर न्यायको माग गर्दै आमरण अनशन बसेकी छिन् । दुधे बालकलाई दूध चुसाउँदै आमरण अनशन बस्नुपर्ने कुरा लज्जास्पद हो,’ उहाँले भन्नुभयो, ‘राज्यका हरेकजसो निकायमा पुगेर पनि उनले न्याय पाउन सकेकी छैनन् । उनलाई अदालतले समेत न्याय दिन सकेको छैन । र, अहिले पाँच बुँदे माग राखेर उनी अनशनमा छिन् । उनको माग सम्बोधन गरियोस् ।’

उनले दिनानुदिन महिला हिंसाको दर बढिरहेको भन्दै नेपाली चेलीहरूमाथिको हिंसा न्यूनीकरण गर्न सरकार पूरै असफल भएको बताउनुभएको छ । ‘हाम्रो समाजमा हजारौँ महिलाहरू यस्तै समस्याबाट गुज्रिरहेका छन् । भ्रुण हत्या गर्ने, औषधि सेवन गर्ने र आफ्नै ज्यान जोखिममा पार्ने बाध्यात्मक अवस्थामा छन् । आज छ दिन भइसकेको छ, उनको स्वास्थ्य अवस्था राम्रो छैन । सरकार अत्यन्तै गैरजिम्मेवारीपूर्ण अवस्थामा बसेको छ, यसको छानबिन होस्, सत्यतथ्य पत्ता लगाइयोस् र दोषीलाई कारबाही गरियोस्,’ उहाँले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार