काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताउनुभएको छ । बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताउनुभएको हो।
‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई-तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ उहाँले भन्नुभयो । काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरेको छ। ब्रुमरको सानो पाइपमात्रै बिग्रिए पनि थन्काएर राखेको भन्दै मर्मत गरी चलाउने थालिएको उहाँले बताउनुभयो ।
‘कर्मचारीतन्त्रको कुरामा हामीले विभिन्न कदमहरू चालिसकेका छौं। जस्तै: हरेक कर्मचारीको रूममा सिसिटिभी राखेका छौं। गाडीहरू मर्मतकै लागि पनि कर्मचारीले मर्मत गर्न नपाउने, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नै गर्छ,’ उहाँले भन्नुभयो,‘किनभने मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो।’
उहाँले थप्नुभयो,‘ब्रुमर बिग्रियो भन्नुभयो। तर ब्रुमरको सानो एउटा पाइपमात्रै बिग्रिएको रहेछ। आजदेखि चलिसक्यो। रेडी भइसक्यो। रकेट साइन्स केही पनि थिएन।’बुधबारदेखि काठमाडौंमा पाँच वटा ब्रुमरले सफा गर्न थालेको हो । भोलिदेखि थप चार वटा गरी नौ वटाले सफा गर्न थालिने उहाँले बताउनुभयो। सेतोपाटीबाट