स्वास्थ्यमन्त्री विरोध खतिवडाले ओलीलाई व्यङ्ग्य गर्दै भने– क्वीन्टल म साबित भएँ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले प्रतिनिधिसभा बैठकमा एउटा रोचक कथा सुनाउनुभएको छ । विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले आफैलाई जोडेर एउटा कथा सुनाउनुभएको हो ।

स्वास्थ्य बिमा ऐनको विपरीत जाने गरी काम गर्दिन र यो व्यापारिक प्रयोजनका लागि नभएको आफूले प्रष्ट पारिसकेको र अर्थमन्त्रीले समेत सदनलाई प्रस्ट पारिसकेको अवस्थामा केही सांसदले फेरि पनि त्यही विषयलाई तानिरहेको तर्फ सङ्केत गर्दै ‘केही मानिस जिद्दी हुन्छन्’ भन्दै कथा सुरुवात गर्नुभयो ।’

मेरो हेटौँडामा एउटा साथी थियो । मेरो जिउ देखिहाल्नु भयो, क्वीन्टल माथि पुगेको छ । ऊ अलि क्वीन्टल पुगिसकेको छैन, किलो मै छ,’ कथा सुनाउँदै मन्त्री खतिवडाले भन्नुभयो, ‘उसले जहिले देखे पनि मलाई तेरो फोक्से मासु हो, तँ क्वीन्टल छैनस् । तँ किलो नै होस्, मचाहिँ हो क्वीन्टल भन्थ्यो ।’ गत वैशाख ३० गते ऊसँग भेट भएको र फेरि उसले त्यही कुरा गरेको उहाँले सुनाउनुभयो ।

‘दोकानमा तौल मेसिन रहेछ । मैले पनि जोखेँ, उसले पनि जोख्यो । आखिर उसले आफूलाई क्वीन्टल भनेको थियो, किलो साबित भयो । क्वीन्टल मै साबित भएँ,’ उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ यस्तो पनि हुन्छ ।’उल्लेखनीय छ, स्थानीय तह निर्वाचन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले क्वीन्टल रहेको र अन्य दल तथा सत्तारुढ गठबन्धन ‘किलो’मा सीमित रहेको बताउनुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार