प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक अभाव हुन दिन्नौं : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताउनुभएको छ । बिहीबार नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

‘मुलुकको भाषा, साहित्य र संस्कृति प्रवर्द्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने कुरा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु’, उहाँले भन्नुभयो । उहाँले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाउनुभयो । उहाँले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने पनि बताउनुभयो ।

‘नेपालको गौरव, प्राज्ञिक, सांस्कृतिक सामर्थ्यलाई देश, विदेशमा चिनाउन विषयगत अध्ययन, अनुसन्धान गराएर विभिन्न ग्रन्थ प्रकाशन गर्न प्रज्ञा प्रतिष्ठान सफल भएको छ। यस्ता कामलाई अगाडि बढाउन प्रज्ञा प्रतिष्ठानलाई नेपाल सरकारले सदा सहयोग गर्ने कुरा पनि व्यक्त गर्न चाहन्छु’, उहाँले भन्नुभयो, ‘जहाँसम्म यहाँ आर्थिक कठिनाइ भन्ने कुरा आएको छ यसमा हामी अवश्य नै सल्लाह गरेर के हुन्छ सरकारले अवश्य नै सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु।’

उहाँले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा प्रज्ञा–प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । नेपालको प्राज्ञिक गरिमालाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्दै मित्र राष्ट्रका समान प्राज्ञिक प्रतिष्ठानसँग संस्थागत रूपमा भए पनि साझेदारी पत्रमा हस्ताक्षर गरी सहकार्यमा साहित्यिक, सांस्कृतिक आदानप्रदानलाई अगाडि बढाई यस प्रतिष्ठानले आफूलाई अन्तर्राष्ट्रिय रुपमा पनि क्रियाशील आस्थाको रूपमा स्थापित गरेको छ’, उहाँले भन्नुभयो,

‘आगामी दिनमा संस्थाको गतिविधिलाई अझ घनिभूत रूपमा अघि बढाउँदै नेपालको सबै समुदायको भाषा, साहित्य, संस्कृति, दर्शनको प्रवर्द्धनको क्षेत्रमा यस प्रतिष्ठानले थप योगदान पुर्‍याउने विश्वास लिएको छु।’ कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएर पठाएको प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

नेपाल प्रज्ञा– प्रतिष्ठानको संरक्षकसमेत रहेका उहाँले प्रज्ञा–प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गर्ने गरेको उल्लेख गर्दै थप कृति र रचनाको प्रकाशन गर्नका निम्ति बजेटको माग गर्नुभयो । ‘सम्माननीय प्रधानमन्त्रीज्यू, साहित्य र संस्कृतिसँग जोडिएको विभिन्न प्रतिष्ठानलाई बजेटलाई गत वर्षको तुलनामा यसपालिको बजेट उपेक्षा गरिएको छ’, उहाँले भन्नुभयो, ‘यसै प्रज्ञा प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गरिएको छ।

तथापि बजेटको सिलिङमा अर्थ मन्त्रालयले घटाएर पठाएको छ। थप कृति र रचनाको प्रकाशनको निमित्त थप बजेट आवश्यक रहेको कुरा सम्माननीय प्रधानमन्त्रीज्यूलाई म जानकारी गराउन चाहन्छु।’मन्त्री आलेले नेपाल–प्रज्ञा प्रतिष्ठानले नेपाली कला, साहित्य र संस्कृतिको क्षेत्रमा गरेको कामहरुको प्रशंसा गर्नुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार