धार्मिक पर्यटक बोकेको भारतीय रेल आइपुग्यो जनकपुरधाम

धनुषा । रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ । मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो ।

मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए । सो रेल जनकपुरधाम आइपुग्दा तीर्थयात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवलगायतले स्वागत गर्नुभएको थियो ।

जनकपुरधामबाट तिर्थालुहरु भोलि पुनः सोही रेलबाट सितामढीका लागि प्रस्थान गर्नेछन् । सो रेलमा ६ सय तिर्थालुहरु आएका छन् भने उनीहरुलाई मधेश प्रदेश सरकारले जानकी मन्दिर दर्शनका साथै साँझमा गंगा आरतीमा सहभागी गराउने कार्यक्रम बनाएको छ । रामायण सर्किट अन्तर्गत भारत र नेपालबीच पर्यटक रेल सुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्यत पुग्ने व्यवसायीहरुको आशा रहेको छ । आज रेलमा नेपाल आइपुगेकाको नेपाल र भारतमा गरी १८ दिनको यात्रा हुनेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार