अब ज्ञानेन्द्र शाह खानपिनमा रमाउँदा राम्रो हुन्छ : महामन्त्री बर्तौला

बाँके । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्नुभएको छ । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह खानपिन र नाचगानमा शौखिन भएकाले त्यसमै रमाउँदा राम्रो हुने टिप्पणी गर्नुभयो ।

‘व्यापार व्यवसाय, नाचगान र खानपिनमा बढी शौख भएको राजा हुनुहुन्छ, त्यसमा नै रमाउँदा राम्रो हुन्छ’, सोमबार बाँकेको नेपालगन्जमा पार्टीका अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बर्तौलाले भन्नुभयो, ‘राजसंस्थाप्रति सम्मान छ । विरोध आलोचना गर्नु छैन । तर आफ्नो मान मनितोमा त बस्नु पर्यो नि ।’

उहाँले निर्मल निवासको हवाला दिएर राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेलमा केही शक्ति र व्यक्तिहरु अझै योजनाबद्ध रुपमा लागिरहेको आरोप लगाउनुभयो । साझा र अभिभावक बन्ने स्वभाव तथा चरित्र नभएकाले पूर्वराजा शाहको पुनरागमनको कुनै सम्भावना नभएको उहाँले बताउनुभयो ।

राजतन्त्रको एजेण्डा छाडेको राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढङ्गबाट उदाउने दाबी गर्दै उहाँले राप्रपा नेपालको गतिलाई रोक्ने दुस्साहस नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा सहमहामन्त्री हिक्मत ढकालले संगठन निर्माणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्यहरु आशा धिमाल, मोहम्मद इराकी, बिनोद केसी, पुरु दाहाल, जिल्ला अध्यक्ष दिपेन्द्र सिंह लगायतको सहभागिता थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार