कार्यकर्तालाई खुट्टा ढोगाएको भन्‍दै माओवादी नेता मण्डलको आलोचना

विराटनगर । कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलको आलोचना भएको छ । शनिबार बेलुका आफ्नो विवाहको वार्षिकोत्सव कार्यक्रममा मण्डलले कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै आलोचना भएको हो ।

वैवाहिक वर्षगाँठ मनाउन भन्दै शनिबार बेलुका देवा यादवसहितका माओवादीका कार्यकर्ताहरु विराटनगर महानगरपालिका वडा नं. १ स्थित मण्डलको घर पुग्नुभएको थियो । केक काटेपछि कार्यकर्ताहरुलाई उहाँले टीका लगाइदिनुहुन्छ । टीका थाप्नुभएका कार्यकर्ता देवा यादवले निहुरिएर मण्डलको खुट्टा छुनुहुन्छ । मण्डलले उहाँलाई रोक्न पनि नखोजेको भिडिओमा देखिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ सेयर गर्दै कार्यकर्तालाई खुट्टा ढोगाएको भनेर मण्डलको आलोचना गरिरहेका छन् । मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मण्डल पूर्वमन्त्री पनि हुनुहुन्छ । उहाँले यो आफूहरुको पारिवारिक संस्कार भएकाले आलोचनाको विषय नभएको बताउनुभयो । ‘आफूभन्दा जेठोलाई ढोग्ने हाम्रो परम्परा छ,’ उहाँले भन्नुभयो, ‘कार्यकर्ताको रूपमा होइन, आशिर्वादका लागि खुट्टा ढोगेजस्तो गरेका हुन्, म पनि अग्रजलाई ढोग्छु ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार