जिल्लामा १५ दिनमै पासपोर्ट पुग्छ, काठमाडौं नआउनुस् : राहदानी विभाग

काठमाढौँ । राहदानी विभागले अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ। आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको विभागले जनाएको छ।

विभागले सूचनामा भनेको छ, ‘विभाग राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको छ। धेरै सेवाग्राहीलाई सेवा दिन क्षमता बढाउने, सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरुबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको छ।’

‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागले सूचनामा भनेको छ, ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ।’

‘विभागले विद्युतीय राहदानी प्रणालीमा समयसापेक्ष अद्यावद्यिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरिरहेको छ। साथै, विभागले सार्वजनिक बिदाको दिनमा समेत सेवाग्राहीहरुलाई सेवा दिएको छ।,’ राहदानी विभागले प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेको सुचनामा उल्लेख गरेको छ।

राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य इमर्जेन्सी कार्यको लागि गरी दैनिक ५ हजार भन्दा बढी सेवाग्राहीहरुलाई सेवा दिइरहेको विभागको दावी छ। विभागले हाल दैनिकरुपमा ६ हजार ५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको जानकारी पनि दिएको छ। ‘सबै सेवाग्राहीहरु बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनुहुन पनि हार्दिक अनुरोध छ’ सूचनामा उल्लेख गरिएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार