मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धी कार्यक्रम

म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्यु निगरानी एवं प्रतिकार्य कार्यक्रमसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा आज (सोमबार) पेरिनेटल मृत्यु निगरानी प्रतिकार्य अभिमुखीकरण कार्यक्रम गरिएको हो ।


समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्युलाई न्युनीकरण गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ । गर्भ रहेको २८ हप्तादेखि बच्चा जन्मिएको ७ दिनको अवधिलाई पेरिनेटल पिरियड भनिन्छ । महिला गर्भवती भएको २८ हप्तादेखि बच्चा जन्मिएको ७ दिनको यो अवधिलाई निकै जोखिमपूर्ण अवस्थाको रुपमा मानिन्छ ।

गण्डकी प्रदेशमा कास्की र म्याग्दी जिल्लामा समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्यु निगरानी एवं प्रतिकार्य (एमपिडिएसआर) कार्यक्रम लागू भएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय म्याग्दीका पब्लिक हेल्थ नर्स दुर्गा शर्माले एमपिडिएसआर कार्यक्रमको विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्भकै कारण कुनै पनि महिलाको ज्यान जान नहुने बताउँदै पेरिनेटल मृत्युलाई रोकथाम गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्यु निगरानी एवं प्रतिकार्य गर्नका लागि बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेको अध्यक्षतामा आमन्त्रित सदस्यसहित ९ सदस्यीय नगरपालिकास्तरीय समिति गठन गरिएको छ । नगर उपप्रमुख लामिछाने, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा अध्यक्षहरु र स्वास्थ्यकर्मीहरु सहभागी कार्यक्रम नगरपालिकाको स्वास्थ्य संयोजक लिला गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच सोमबार नै बेनी नगरपालिकाको आयोजनामा स्वास्थ्यचौकीहरुमा न्युनतम सेवा मापदण्डसम्बन्धी समीक्षा गरिएको छ । स्वास्थ्य सेवाको न्युनतम सेवासम्बन्धी गुणस्तर जाँच गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम नगर प्रमुख केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार