माटो जोगाऔँ अभियान लिएर नेपाल यात्रामा पुन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । पर्वतका नविन पुन माटो जोगाऔँ अभियान लिएर नेपाल यात्रामा निस्कनुभएको छ । जिल्लाको जलजला गाउँपालिका वडा नम्वर ६ सालिजा स्थायी घर भई हाल मोदी –२ मा बस्दै आउनुभएका पुनले गत जेठ ३० गते काठमाडौबाट यो अभियानको सुरु गर्नुभएको हो ।

मंगलबार पुन सहितको अभियान्ताको समुह म्याग्दी आएको बेला जिल्लाका क्रियाशिल पत्रकारहरु संग भेटघाट गरेको छ । नेपाल पत्रकार महासंघ म्याग्दीको शाखाको कार्यालयमा आयोजित कार्यक्रममा पुनले भारतका सद्गुरुद्वारा सुरु गरिएको विश्वव्यापी माटो जोगाऔँ अभियानलाई समर्थन गर्दै नेपालमा पन सचेतनामुलक यात्राको थालनी गरेको बताउनुभयो ।

उहाँले माटो जोगाऔँ अभियानलाई नेपालभर लैजान करिव ३ हजार ५ सय किलोमिटरको यात्रा दौडेर पुरा गर्ने अभियानमा निस्किएको बताउनुभयो । करिव ७० देखि ७५ दिनको अवधिमा पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका ७७ वटै जिल्लामा जनचेतनामूलक कार्यक्रम सहितको अभियान संचालन गरिने पुनले बताउनुभयो ।

नेपालमा दिन प्रतिदिन माटोको उत्पादन शक्ति ह्रास हुँदै गएको र उर्वर माटो नाश हुँदै गएकोले माटोको विग्रदो अवस्थालाई समाधानका लागि सन्देश प्रवाह गर्न यो अभियान संचालन गरिएको हो । पछिल्लो समय माटोमा रासायनिक मल, केमिकल, किटनाशक औसधि, विभिन्न प्रजातिका विषादी लगायतको प्रयोगले माटोको जैविक शक्ति कम हुँदै गएको देखिएको छ ।

माटोको विनाशले गर्दा नै जलवायु परिवर्तन, उत्पादनमा कमि, उत्पादित कृषि उपजमा पौष्टिक तत्वको कमि लगायतको गम्भिर असर देखा परेको अभियन्ता पुनले बताउनुभयो । हालको अवस्थामा विश्वको ५२ प्रतिशत खेतीयोग्य माटो विनाश भईसकेको र संसारभरिको माटोले अवको ६० बर्षसम्म मात्र बाली उब्जाउन सक्ने तथ्यांकहरु सार्वजनिक भएकाले पनि माटो जोगाउन आजैदेखि लाग्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो ।

खेती लगाउँदा जनावरहरु तथा वनस्पतिहरुको मल मात्रै प्रयोग गर्ने र खेतीयोग्य जमिनलाई मासेर बस्ती बसाउने वा जमिन बाँझो राख्ने विषयमा पनि सरोकारवाला निकायको ध्यान जान आवश्यक रहेको अर्का अभियान्ता सनम लिम्वुले बताउनुभयो ।

हालको विश्वका ७० भन्दा बढि देशहरुले यो अभियानको सुरु गरेका छन । अभियानका क्रममा माटो जोगाउनका लागि सन्देशमूलक पर्चा, पम्प्लेट वितरण तथा सरोकारवालाहरु संग भेटघाट र छलफल गरि सन्देश प्रवाह गर्ने कार्य गरिएको अभियानमा सहभागी निर्मल श्रेष्ठले बताउनुभयो । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता र सचिव सन्तोष गौतमको संचालनमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार