दुखुखोलाको पुल जोखिममा

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी–दरवाङ सडक अन्तर्गत पर्ने दुखुखोलाको पुल जोखिममा परेको छ । जिल्लाको मंगला र मालिका गाउँपालिकाको सिमानामा पर्ने उक्त पुल साेमबारदेखी  दुखुखोलामा आएको बाढीको कटाले जोखिममा परेको हो ।

‘बाढीले पुल जोखिममा परेपछि ठुला सवारी साधन वारपार गर्न समस्या भएको छ,’ मंगला गाउँपालिका वडा नम्बर २ रणबाङका श्रीराम पौडेलले भन्नुभयो ,‘पुल र आवत जावत गर्न दुर्घटनाको जोखिम भएको छ ।’

उहाँका अनुसार,बाढीले कटान गरेर मालिका गाउँपालिका तर्फको ग्यावीयन पर्खाल समेत लडाएको जानकारी दिनुभयो । दुखुखोलामा आएको बाढीले पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएको छ ।

बेनी–दरवाङ मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । पूर्वाधार विकास कार्यालयले वि.स. २०७६ मा दुखुखोलामा दुई करोड २५ लाख ६० हजार ८२३ रुपैयाँको लागतमा २२ मिटर लामो पुल निर्माण गरेको थियो ।तत्कालीन जिल्ला विकास समिति अन्तरगतको ड्रिलिप मार्फत वि.स. २०६७ देखि शुरु भएको दुखुखोलाको पुल निर्माण कार्य दश वर्षमा सकिएको थियो । पुलतल दुखुखोलाको बाढीले मंगला गाउँपालिका –२, सहश्रधाराको बस्तितर्फ कटान गर्न थालेको छ । करिब २५ घर रहेको सहश्रधाराका बासिन्दाले कटान नियन्त्रणको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार