मुस्ताङबाट प्रतिनिधिसभामा कांग्रेसले बनायो २८ वर्षीय योगेश गौचन थकाली उम्मेद्वार

 प्रदेशसभामा ३५ वर्षीय गुरुङ र ४० वर्षीय शेरचन

  म्याग्दी न्युज संवाददाता

मुस्ताङमा नेपाली कांग्रेसका तर्फबाट योगेश गौचन थकालीले उमेदवारी दर्ता गराएका छन् । मुस्ताङमा टिकट वितरणको अख्तियारी पाएका नेता रोमी गौचन थकालीले योगेशलाई टिकट दिएका हुन् ।

भर्खरै २८ वर्षका योगेश नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा सदस्य तथा कार्यसम्पादन समिति सदस्य छन् । उनी सम्भवतः कांग्रेसबाट देशकै कान्छो प्रतिनिधिसभा सदस्य उमेदवार हुन् ।

यस्तै, प्रदेशसभामा क मा ३५ वर्षीय नन्दु गुरुङको उमेदवारी परेको छ । उनी मुस्ताङ जिल्ला प्रदेशसभाका क्षेत्रीय सचिव हुन् । यस्तै, प्रदेश खमा विकल शेरचनले उमेदवारी दर्ता गराएका छन् । उनी मुस्ताङ जिल्ला कार्यसमितिका सचिव हुन् ।

नेता रोमी गौचन थकालीले उमेदवारीका लागि पार्टीले अख्तियारी दिए पनि आफू उमेदवार नबनेको बताए । उनले युवालाई समयमै अघि बढाउँदा उनीहरुको वृत्तिविकाससँगै देश विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

“सम्भवतः देशकै कान्छो उमेदवार चयन गरेको छु । अब युवा पुस्तालाई अघि बढाउनुपर्छ भनेर मैले आफ्नै क्षेत्रबाट सुरु गरेको छु,” थकालीले बाह्रखरीसँग भने, “प्रदेशसभामा पनि ४० वर्षभन्दा कमका व्यक्तिहरु उमेदवार भएका छन् ।” बाह्रखरी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार