धवलागिरिको खिबाङमा कानुनी साक्षरता तथा आर्थिक सशक्तिकरण कार्यक्रम

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको खिबाङमा आज (बिहीबार) कानुनी साक्षरता तथा आर्थिक सशक्तिकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । खिबाङको जनजागरण आमा समूहको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले दुर्गम तथा पछाडि परेको समुदायमा कानुनी साक्षरता एवं सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अझै पनि सदरमुकाम र सुगमका ठाउँको तुलनामा भौगोलिक हिसाबले विकट ठाउँहरुमा चेतनासम्बन्धी कार्यक्रमको अभाव रहेको बताउँदै दुर्गम ठाउँका स्थानीयको क्षमता अभिवृद्धि गर्न सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले कानुनी सचेतना, बालविवाह न्युनीकरण र समुदायमा सरकारी वकिल कार्यक्रमको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी बेनी अस्पताल म्याग्दीका डाक्टर बिराज आचार्यले प्रजनन् स्वास्थ्य र अस्पतालमा स्थापना भएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (इऋःऋ)मार्फत उपलब्ध सेवा सुविधाको विषयमा समेत जानकारी गराउनुभएको थियो । धवलागिरि गाउँपालिकाको निवर्तमान अध्यक्ष पुनले नेपालमा महिला आन्दोलनको इतिहास तथा संविधानमा महिलाको हक अधिकारबारे सहजीकरण गर्नुभयो ।


त्यस्तै सुआहारा कार्यक्रम म्याग्दीका विज्ञ बालकुमारी पुनले सुआहारा कार्यक्रम र पोषणको सम्बन्धमा सहजीकरण गर्नुभएको थियो । जनजागरण आमा समूहका अध्यक्ष दलु घर्तीको अध्यक्षता, चन्द्रज्योती माध्यमिक विद्यालय खिबाङका सहायक प्रधानाध्यापक ननसरा सिंकिजाको स्वागत र संगम म्याग्दीका सामाजिक सहजकर्ता सुनिता पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले कार्यक्रमको समग्र जानकारीसहित उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

सामाजिक विकास कार्यालय म्याग्दी र धवलागिरि–४ नम्बर वडा कार्यालय मुदीको समन्वय तथा सहकार्यमा सञ्चालित कार्यक्रमको मिलन म्याग्दी, सुआहारा दोस्रो र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन) जिल्ला शाखा म्याग्दीले सहकार्य गरेका थिए ।

नेपालमा १६ दिने अभियानको सुरुवात वि.सं. २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिलाविरुद्ध हुने हिंसाको सवालमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आइएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विश्वभर मनाउँदै आएको पाइन्छ । यसवर्ष ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने राष्ट्रिय नारासहित नेपालमा विभिन्न कार्यक्रमसहित अभियान सञ्चालन भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार