२० औं जेसीजकपको पहिलो दिन ६ खेल सम्पन्न

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनीमा बुधबारदेखि शुरु भएको अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको पहिलो दिन छ वटा खेलको प्रतिस्पर्धा भएको छ ।पहिलो चरणको खेलबाट साविक बिजेता न्यु वेष्ट पोइन्टले विजय शुरुवात ग¥यो भने गत वर्षको उपबिजेता बुद्ध एकेडेमी पहिलो चरणको खेलबाटै बाहिरिएको छ । छ वटा मध्य ४ वटा खेलको प्रतिस्पर्धा पेनाल्टी सुटआउटबाट छिनोफानो भएको म्याग्दी जेसीजका शाखा सम्पादक दिनेश बराइली विश्वकर्माले जानकारी दिनुभयो ।

उद्घाटन खेलमा न्यु वेष्ट पोइन्ट आवासीय मावीले म्याग्दी एकेडेमीलाई शुन्यका विरुद्ध १ गोल ग¥यो । खेलको ५७ औ मिनेटमा १ गोल गरेको वेष्ट पोइन्टका सुमन थापा प्लेयर अफ दि म्याच बने ।बृद्ध एकेडेमी र बालमन्दिर आधारभूत विद्यालय कालीपुलबीचको खेलमा निर्धारित समयमा एक÷एक गोल भएको थियो । पेनाल्टी सुट आउटमा बालमन्दिरले पाँचका विरुद्ध छ गोल गरेको थियो । प्रविन थापा र रेविन खानले एक÷एक गोल गरेको सो खेलमा बालमन्दिरका सविन खोरजाले प्लेयर अफ दि म्याचको उपाधी पाए ।

केवि एकेडेमी दरवाङ र लिटिल गार्डेन एकेडेमी बेनीबीच भएको तेस्रो खेलको निर्धारित समयमा एक÷एक गोल भएको थियो । पेनाल्टी सुट आउटमा ४ का विरुद्ध ५ गोल गरेर केवी दोस्रो चरण प्रवेश गरेको हो । लिटिल गोर्डेनका सोसन नेपालीले ११ मिनेटमा गोल गरेका थिए भने २० औ मिनेटमा एक गोल गरेका केविका निखिल रोकाले प्लेयर अफ द म्याचको उपाधी पाए । हेम नमुना आवासीय मावि शिवाङ र माउन्ट एभरेष्ट आवासीय मावि बेनीबिचको खेलको निर्धारत समयमा दुवैतर्फबाट गोल हुन सकेन । पेनाल्ट सुटआउटमा ३ का विरुद्ध ४ गोल गरेको माउन्टका सनम विक प्लेयर अफ द म्याच भए ।

भीम मावि राजदाङ र किसानी चन्द्रकुन्ता मावि धारापानीबीच भएको पाँचौ खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल भएन् । पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोल गरेको किसानी चन्द्रकुन्ताका अमृत रसाइली प्लेयर अफ द म्याच बने । छैठौ खेलमा सुजभ बानिया र अनेश भण्डारीको एक÷एक गोलले बेनी बोर्डिङले जामुनाखर्क मावि अर्थुङ्गे विरुद्ध जित निकाल्यो । बेनी बोडिङका अनेश भण्डारीले प्लेयर अफ द म्याचको उपाधी पाए ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १८ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले मंगलबार उद्घाटन गर्नुभएको थियो । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको छ ।प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २२२ रुपैयाँ पुरस्कार प्रदान गरिने म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद २ हजार ५ सय रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद ७ हजार ७७७ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।सेमी फाइनलमा पुग्ने २ टिमलाई ५ हजार रुपैयाँका दरले उपलब्ध गराइनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी जर्सी पुरस्कार र अनुशासित टिमलाई सात हजार ७७७ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

विद्यालय तहका विद्यार्थीहरुमा लोकप्रिय खेल जेसीजकप फुटबलले म्याग्दीमा खेलाडी तथा रेफ्रि उत्पादनमा योगदान गरेको छ । यसपाली सन २००९ को जेसिजकपका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्टरलाई पुरस्कृत गरिने म्याग्दी जेसीजले जनाएको छ ।जेसीजकपबाट पहिचान भएका खेल प्रतिभालाई विभिन्न विद्यालयले निशूल्क पठनपाठनको व्यवस्थाका साथै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार