मुस्ताङदेखि पोखरातर्फ जाँदै गरेको बस कालिगण्डकी नदीमा खस्यो , १७ जना घाइते

  म्याग्दी न्युज संवाददाता

बेनी । हिमाल पारिको जिल्ला मुस्ताङदेखि पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार १७ जना घाइते भएका छन् । बुधबार विहान ८ः३० बजेको समयमा मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर ३ कालोपानीमा म्याग्दी कोरोला यातायात प्रा.लि.को ना ७ ख ७४४० नम्बरको बस कालिगण्डकी नदीमा खसेको हो । बस सडकदेखि करिब ५० मिटर तल कालिगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रबिन्द्रनाथ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार,बसमा सवार चालक र सहचालक सहित सबै घाइते भएका छन् । घाइते १७ जना मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । घाइते मध्ये ११ जनालाई मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारकाका लागि पोखरा स्थित गण्डकी अस्पतालमा रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।

बाँकी घाइतेको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइहेको छ । ‘समयमै उद्धार भएकोले ठुलो क्षती हुनबाट जोगिएको छ ,’प्रनाउ पौडेलले भन्नुभयो ,‘ बसका चालक र सहचालक पनि घाइते भएको र बस कालिगण्डकी नदीमा डुबेकोले दुर्घटनाको कारण पत्ता लगाउन समय लाग्नेछ ।’

बुधबार विहान कालिगण्डकी नदीमा खसेको बस । तस्बिर ः मनोज शेरचन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार