दिच्याममा हाजिरी जवाफ प्रतियोगिता

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दिच्याममा रहेको भगवती आधारभूत विद्यालयमा आज (शुक्रवार) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । वार्षिक परीक्षालाई मध्यनजर गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित हाजिरी जवाफ प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा मालिका आधारभूत विद्यालय दुखु, किसानी माध्यमिक विद्यालय विम, भगवती आधारभूत विद्यालय दिच्याम, जनप्रिय मावि दरबाङ, दरबाङ इङ्लिस बोर्डिङ स्कुल र शिद्ध आधारभूत विद्यालय निस्कोटले सहभागिता जनाएका थिए । तीमध्ये किसानी मावि विम प्रथम र जनप्रिय मावि दरबाङ द्वितीय भएकोमा उनीहरुलाई क्रमशः नगद आठहजार र चारहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै भगवती अक्षयकोषका अध्यक्ष जंगबहादुर पूर्जाले अक्षयकोषको रकम वृद्धिमा निरन्तरता दिएर व्यवस्थित गर्नेसके आगामी दिनमा अन्य कार्यक्रमहरु पनि गर्न सहज हुने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर रोकाको अध्यक्षता र शिक्षक टकबहादुर पुनको सञ्चालनमा सम्पन्न प्रतियोगितामा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रधानाध्यापक जगतबहादुर खत्रीले प्रकाश पार्नुभएको थियो । दरबाङका वडा सदस्य सतदेवी दर्जीको विशेष उपस्थिति रहेको कार्यक्रम अक्षयकोषदाता, विद्यालयको जुनियर रेडक्रस सर्कल र बाल क्लबले संयुक्त रुपमा आयोजना गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार