म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३४ जना क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न समयमा स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट सो संख्यामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

विश्वक्षयरोग दिवसको अवसरमा शुक्रबार स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा चालु आवको आठ महिनामा बेनी नगरपालिकामा १३, अन्नपूर्णमा ६, मालिकामा ५, रघुगंगामा ४, मंगलामा ४ र धवलागिरीमा ३ जना क्षयरोगका विरामी भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले जानकारी दिनुभयो ।

म्याग्दीमा गत आर्थिक बर्षमा ५८ जना क्षयरोगका विरामी भेटिएका थिए । त्यस्तै २०७७÷७८ मा ४८ जना क्षयरोगी पत्ता लागेका थिए । कार्यालय प्रमुख लम्मासलले समयमै क्षयरोगको पहिचान गरि औषधी सेवन गरेमा रोग निको हुने भएपनि रोगबाट पिडित भएकाहरु उपचारको लागि

नआउने, नियमित रुपमा औषधी सेवन नगर्ने समस्याहरु रहेको भन्दै जनचेतना फैलाउन आबश्यक रहेको बताउनुभयो ।
उहाँले क्षयरोगबाट पिडित भएका १ व्यक्तिबाट बर्षमा १० जना सम्म थप संक्रमित हुन सक्ने खतरा भएकाले दुई हप्ता भन्दा बढी समयदेखि खोकी लाग्ने, खकारमा रगत देखिने लगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य परिक्षण गरि उपचार गर्न आग्रह गर्नुभएको छ।

बेनी अस्पताल, दरवाङ स्वास्थ्य केन्द्र, र शिख स्वास्थ्य चौकीमा क्षयरोग पहिचान गर्न सकिने व्यवस्था रहेको छ । स्वाथ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले स्वास्थ्यकर्मीको सुझाब अनुसार क्षयरोगीले औषधी सेवन गरेमा थप रोग फैलनबाट रोक्न सकिनेमा बताउनुभयो । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट यस रोगको औषधी निःशुल्क रुपमा उपलब्ध गराईन्छ । नेपाल सरकारले आगामी आव २०८२÷८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेललको अध्यक्षतामा भएको कार्यक्रममा शिनियर अहेव अधिकृत सोमनाथ उपाध्यको स्वागत तथा सूचना अधिकारी सुवेदीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार