जनभेटघाटमा सांसद जुग्जाली

  म्याग्दी न्युज संवाददाता

निस्कोट । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली जनभेटघाट अभियान सञ्चालन गर्नुभएको छ ।

केन्द्रिय राजनीतिमा नयाँ समिकरण बनेपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएपछि पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका जुग्जालीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता र सर्वसाधारणसँग भेटघाटका लागि गाउँ पुग्नुभएको हो ।

“अहिले संसद चलेको छैन, निर्वाचन लगत्तै राजनीतिक कामले निर्वाचन क्षेत्रका सबै ठाउँमा पुग्न सकेको थिइन,” उहाँले भन्नुभयो “संसद नचलेको फुर्सदको समयलाई सदुपयोग गरेर मतदातालाई धन्यवाद दिने । समस्या, आवश्यकता संकलन तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफलका लागि गाउँ अभियानमा निस्किएको छु ।”

जुग्जालीको टोलीले आइतबार मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटमा स्थानीयबासी र नेता कार्यकर्ताहरुलाई भेटघाट गरेर धन्यवाद दिनुका साथै प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुको अनुगमन गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाली काँग्रेसका म्याग्दी प्रदेश ख का सभापति समेत रहेका निस्कोटका वडा अध्यक्ष टंकप्रसाद पुन, नेपका माओवादी केन्द्र मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचन लगायत सहभागी हुनुभएको थियो । मालिका गाउँपालिकाको रुम, ओखरबोट, देविस्थान, दरवाङ र धवलागिरीका वडाहरुमा पनि जाने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार