राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’ (तस्बिर सहित)

  म्याग्दी न्युज संवाददाता

बेनी ।निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निमाणाधिन ४० मेगावाट क्षमताको सो आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले निर्माण गरिरहेको छ । गाउँपालिकाको वडा नम्बर ३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा सुरुङबाट आउने पानीलाई विद्युत गृहमा खसाल्ने ठाडो १९६ मिटर सुरुङ सोमबार जोडिएको आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले बताउनुभयो ।

‘विद्युत गृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर बटम प्रेसर साफ्टको सुरुङ यस अघिनै जोडिएको थियो,’ उहाँले भन्नुभयो , ‘सबैभन्दा कठिन मानिएको भर्टिकल प्रेसर साफ्टको पनि आज ब्रेक थु्रु भएको छ ।’ सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले सहायक ठेकेदार बाबरी र बाराही मण्डली कन्ट्रक्सनलाई भर्टिकल प्रेसर साफ्ट निर्माणको जिम्मा दिएको थियो । बाराही मण्डलीका सञ्चालक नन्दबहादुर छन्त्यालले शुरु गरेको चार महिनामा भर्टिकल प्रेसर साफ्ट निर्माण सकेको बताउनुभयो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्ट सम्मको ५४१ मिटर मध्य ३७० मिटर सुरुङ निर्माण सकिएको छ ।

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । छ हजार २७० मिटर लामो सुरुङ मध्य हालसम्म चार हजार ३३४ मिटर निर्माण सकिएको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । उहाँका अनुसार, आयोजनाको समग्रमा भौतिक प्रगति ५५ प्रतिशत छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्काको ४५ महिनाको अवधीमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परिक्षण गरि आयातको प्रक्रिया अघि बढाइएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ ।

तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण तीव्रताका साथ भैरहेको छ । घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरि विद्युतर बाँधलाई सिधा सडकले जोडिएको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलविद्युत आयोजना निर्माण अघि बढाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार