धौलागिरि हिमालमा वेपत्ता भरियाको शव भेटियो

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दी स्थित धौलागिरि हिमालमा वेपत्ता एक जना भरियाको शव भेटिएको छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ वेपत्ता भएका तीन जना मध्य दुई जनाको शनिबार जिवितै उद्धार भएको थियो । सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–१, नुथला फेलेलीका २० वर्षीय अमृत राईको शव मंगलबार आधार शिविरबाट काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

सेभेन समिट ट्रेक काठमाडौबाट भरियाको रुपमा आएका उनिहरु जापानीज आधार शिविर नजिकै हिउँपहिरोमा परेका थिए । मंगलबार बिहान एभरेष्ट एयरको हेलिकप्टरबाट धवलागिरी गाउँपालिका–७ ,ताकम ल्याइएको राईको शव बेनी हुदै काठमाडौ गाडीमा पठाइएको उद्धारका लागि आधार शिविर पुगेर फर्किएका म्याग्दी दानाका ईन्द्रसिंह शेरचनले बताउनुभयो ।

अमृतसँगै वेपत्ता भएका सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका –१ का धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरुको टोलीले सकुशल उद्दार गरेर इटली आधार शिविरमा लगेका थिए । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार