धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम

  म्याग्दी न्युज संवाददाता

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ । गाउँपालिकाको सहयोग र शान्तिका लागि समग्र विकास संस्थाको आयोजनामा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र वडा तथा वस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

“समाजमा उत्पन्न हुने न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने बिवादलाई वस्ती स्तरमै मेलमिलापको माध्यमबाट सुझाउन वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो “मेलमिलापकर्ताको रुपमा काम गर्न इच्छुक जनप्रतिनिधि र अगुवाहरुलाई आधारभूत तालिमको व्यवस्था गरिएको हो ।”

मेलमिलापकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्न सकेमा वस्ती स्तरमै बिवाद निरुपण हुने, मेलमिलाप कायम हुने, न्यायिक समिति, प्रहरी, अदालत र अन्य अर्धन्यायिक निकायमा धाउने समय र खर्चको बचत हुने अपेक्षा गरिएको छ । तालिमको शान्तिका लागि समग्र विकास संस्थाका बिन्दीया खनाल, विद्या खनाल, राजेश खनाल लगायतले सहजिकरण गर्नुहुने जनाएको छ ।

गाउँपालिकाका रोजगार संयोजक देविन्द्र पुनले सञ्चालन र वडा नम्बर ३ मुनाका अध्यक्ष देवेन्द्र रोकाले स्वागत गर्नुभएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले मन्तब्य र वडा नम्बर १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले अघिल्लो कार्यकालको न्यायिक समितिमा बसेर काम गर्दाका अनुभव सुनाउनुभएको थियो ।

तालिम पश्चात सहभागीहरुले मेलमिलाप कर्ताको प्रमाणपत्र पाउनेछन् । मेलमिलाप कर्ता भएपछि वडामै मेलमिलाप केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । तालिममा वडा नम्बर १ बाट ४ जना, २ बाट ४ जना, ३ बाट ५ जना, ४ बाट ४ जना, ५ बाट ३ जना, ६ बाट ३ जना र ७ बाट ५ जनाले सहभागिता जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार