म्याग्दीमा ट्राफिक सप्ताह सुरु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार)देखि विविध कार्यक्रमको आयोजना गरेर ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नारासहित म्याग्दीमा ट्राफिक सप्ताह मनाउन थालिएको हो ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्युनीकरणका लागि म्याग्दी जिल्लामा ट्राफिक सप्ताह सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनीमा जनप्रतिनिधि, ट्राफिक प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विद्यार्थी र व्यवसायीहरुले प्रभातफेरी गरेका थिए । सर्वसाधारणहरुलाई ट्राफिक नियमसम्बन्धी विषयमा जनचेतना जगाउन सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरी प्रमुख राजेन्द्र पौडेलले बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पर्चा पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक र परिचालकलाई प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण, सिट क्षमता आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, सशस्त्र प्रहरी, विद्यार्थीलाई प्रशिक्षण, साना तथा ठूला सवारीमा स्टिकर टाँस गर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण, सवारीको यान्त्रिक परीक्षण र ग्रामीण भेगमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुनेछन् । पछिल्लो समय बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यसहित ट्राफिक सप्ताह मनाउन लागिएको जनाइएको छ ।

सदरमुकाम बेनीमा प्रभातफेरि ¥यालीपछि जिल्ला समन्वय समिति, म्याग्दीको सभाहलमा आयोजित कार्यक्रमलाई जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सम्बोधन गर्नुभएको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षता र प्रहरी नायव उपरीक्षक मदन कुँवरले स्वागतसहित जानकारी गराएको कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक कुमार गुरुङले सञ्चालन गर्नुभएको थियो ।

ट्राफिक सप्ताहको दोस्रो दिन चोकचोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन, तेस्रो दिन ग्रामीण सडकमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, चौथो दिन चालक तथा परिचालकलाई प्रशिक्षण, पाँचौं दिन सडक प्रयोगकर्तालाई प्रशिक्षण, छैटौं दिन सवारीचालकको स्वास्थ्य परीक्षण र सातौं दिन पत्रकारसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार