मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा  पचास लाख रुपैयाँ  बिनियोजन भएको भवनको संरचना तयार पार्ने कामका लागि माछापुच्छ्रे निर्माण सेवाले  ४१ लाख ६३ हजार २३  रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।असार महिनाभित्र सम्झौता अनुसारको सम्पन्न गर्ने सम्झौता भएको छ । निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य सहित उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेको निर्माण कम्पनीका सञ्चालक कलाधर आचार्यले बताउनुभयो ।

भवनको जग्गा व्यवस्थापन र जग खन्ने काम सकिएको छ । नयाँ भवन निर्माण भएपछि स्वास्थ्य चौकीको सेवा प्रवाह सहज हुने वडा अध्यक्ष याम बहादुर घर्तिले बताउनुभयो । हाल साघुरो कोठा भएको पुरानो भवनबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुदै आएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेम पुनले आगामी आर्थिक वर्षमा थप बजेट ब्यवस्थापन गरेर मुदी स्वास्थ्य चौकीको भवन निर्माणलाई पूर्णता दिने बताउनुभयो । केही दिनअघि धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ मराङमा वडा कार्यालय भवन निर्माण शुरु भएको थियो ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर २ र ७ को भवन निर्माण कार्य हालै सकिएको अध्यक्ष पुनले बताउनुभयो । घट्टखोलामा गाउँपालिकाको सुविधासम्पन्न भवन निर्माण धमाधम भैरहेको छ ।यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएकोे छ । ताकममा पाँच शैया क्षमताको अस्पताल भवन निर्माणमा भने ढिलासुस्ति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार