बजेट निर्माणको तयारीमा अन्नपुर्ण गाउँपालिका

  धनिलाल गर्बुजा

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१को निति तथा कार्यक्रम र बजेट निर्माणको तयारी थालेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि अन्नपुर्ण सहित म्याग्दीका ६ वटै स्थानीय तहहरु बजेट निर्माणको तयारीमा जुटेका छन् ।

पालिकामा चालू आवका योजना तथा कार्यक्रमको कार्यान्वयन पक्ष अन्तिम चरणमा पुगेको सन्दर्भमा ति योजनाको काम र प्रगतिबारे अनुगमनमा समेत जुटेका जनप्रतिनिधिले आगामी वर्षका लागिसमेत समुदायस्तरबाट योजना छनोटको प्रारम्भिक काम शुरु गरेका हुन् । वडाका जनप्रतिनिधिहरु अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी सुझाव संकलन गर्न थालिसकेका छन् ।

चालु आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमहरुलाई कार्यान्वयन प्रभावकारी बनाउन अनुगमन समेत गरी आगामी आर्थिक वर्षका लागि वडाका जनप्रतिनिधिमार्फत बस्तीस्तरमा पुगेर बृहत् भेलामार्फत योजनाको प्राथमिकीकरण गर्ने कार्य थालनी गरिसकिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । जनताका अत्यावश्यक मागको सम्बोधन हुने र समग्र गाउँपालिकाको विकास र समृद्धिलाई ध्यानमा राखी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने अध्यक्ष पुनको भनाइ छ । पूर्व तयारी र गृहकार्यका साथ सुदृढ खालको बजेट ल्याउने प्रयास थालिएको गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार ,जेठ २३ गते कार्यपालिकाको वैठक बसेपछि त्यस अन्तर्गतका विषयगत समितिका बैठक  सुरु भएको छ । संस्थागत क्षमता विकास तथा सुशासन ,आर्थिक विकास ,सामाजिक विकास ,पुर्वाधार विकास र वन बातावरण तथा विपद् समितिहरुकाे वैठकमा शिर्षकगत रुपमा बजेट विनियोजनका लागि प्रस्ताव माग गरि छलफल गरिनेछ । असार २५ भित्र बजेट पेश गर्नुपर्ने स्थानीय तहहरुले असार १० गतेभित्रै नीति तथा कार्यक्रम पेश गर्नुपर्ने नीतिगत व्यवस्था छ ।

अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत संघीय सरकारबाट अन्नपूर्ण गाउँपालिकालाई ३४ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । समग्र रुपमा एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीलाई आगामी आर्थिक वर्षको लागि २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत म्याग्दीका पालिकालाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान शिर्षकबाट सो बजेट अनुदान उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार