प्रभात बोसेल धरौटीमा रिहा

  म्याग्दी न्युज संवाददाता

पोखरा । जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका युट्युबर प्रभात बोसेललाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई १ लाख धरौटीमा छाड्ने आदेश सोमबार दिएको हो ।

बिहीबार मात्र उनलाई अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न म्यादी जिल्ला अदालतले आदेश दिएको थियो । जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले केही शर्तसहित उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । दुवै अदालतको आदेश अनुसार ३ लाख ५० हजार धरौटी बुझाएर बाँकी मुद्धा बोसेलले थुनामा नबसी बाहिरबाटै लड्न पाउने भएका हुन् ।

अदालतको आदेश अनुसार मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म बोसेल र उनका परिवारबाट जाहेरवाला र परिवारसँग भेटघाट नगर्ने, गोपनीयतामा असर गर्ने, भौतिक, शारीरिक र मानसिक क्षति पुग्ने कार्यहरू नगर्ने, अन्तरवार्ता नदिन लगायत मुद्दालाई प्रभावित पार्ने गतिविधि गर्न पाउने छैनन् ।

जाहेरवाला युवतीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा र कास्कीमा प्रभातलाई अपहरण, जबरजस्ती र शरीर बन्धक सम्बन्धी जाहेरी दिएकी थिइन् । जाहेरवालाले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बसेलमाथि अपहरण र शरीर बन्धक सम्बन्धी जाहेरी दिएकी थिइन् । यस्तै, जिल्ला प्रहरी कार्यालय कास्कीमा जबर्जस्ती करणी मुद्दा हालेकी थिइन् ।

गत फागुन ६ गते अपहरण गरेर बन्धक बनाइ बलात्कार गरेको भन्दै जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी परेको थियो । जिल्ला अदालत म्याग्दीबाट धरौटीमा रिहा गर्ने आदेश पाए पनि जबरजस्ती करणीको मुद्दामा उनी कास्की प्रहरीको हिरासतमै थिए । बागलुङ नगरपालिका–९, तित्याङका २३ वर्षीय प्रभात बोसेललाई जेठ ७ गते पोखराबाट प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार